२०८३ कार्तिक १६, सोमबार | Mon, 02, Nov, 2026

महाभियोगदेखि प्रेस स्वतन्त्रतासम्म : साझा रणनीति बनाउन जुट्दै विपक्षी दल


५९५ पाठक संख्या
  • २०८३ कार्तिक १६, सोमबार मा प्रकाशित ४९ मिनेट अघि
  • १६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बस्न लागेको विपक्षी दलहरूको बैठकका लागि चारवटा महत्त्वपूर्ण एजेन्डा तय गरिएका छन्। न्यायाधीशमाथि महाभियोग, संसद् बैठक आह्वान, प्रहरी महानिरीक्षक (आईजीपी) सम्बन्धी विवाद तथा प्रेस स्वतन्त्रता र संवैधानिक निकायको स्वायत्तताका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित बैठक बस्न लागेको हो।

    कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राज्यका महत्त्वपूर्ण निकायसँग जोडिएका विषयमा विपक्षी दलहरूको साझा दृष्टिकोण तय गर्ने प्रयास गरिनेछ।

    बैठकका लागि तय गरिएका एजेन्डामध्ये पहिलो विषय सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीशहरूमाथि महाभियोग लगाउने सम्बन्धमा गरेको निर्णय, त्यसको आगामी प्रक्रिया र उक्त विषयमा विपक्षी दलहरूको धारणा रहेको छ।

    त्यस्तै, संसद् बैठक बोलाउनुपर्ने आवश्यकता र संसदीय छानबिन समिति गठनको मागका विषयमा पनि छलफल हुनेछ। संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तथा समसामयिक विषयमा संसदीय निगरानी र छानबिन सुनिश्चित गर्ने विषयमा विपक्षी दलहरूबीच साझा धारणा बनाउने प्रयास गरिने जनाइएको छ।

    तेस्रो एजेन्डाका रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) सम्बन्धमा उठेका आशङ्का, प्रश्न तथा विवादका विषयमा छलफल हुनेछ। उक्त प्रकरणमा विपक्षी दलहरूको साझा धारणा तय गर्ने र आवश्यक राजनीतिक पहलका विषयमा समेत बैठकमा विमर्श हुने बताइएको छ।

    यसैगरी, प्रेस स्वतन्त्रता, न्यायालयको स्वतन्त्रता तथा संवैधानिक निकायहरूको स्वायत्तता र निष्पक्षता अक्षुण्ण राख्ने विषयलाई पनि बैठकको महत्त्वपूर्ण एजेन्डाका रूपमा समेटिएको छ। लोकतान्त्रिक मूल्य, विधिको शासन र संवैधानिक व्यवस्थाको संरक्षणका विषयमा विपक्षी दलहरू एकमत हुने प्रयास गरिने जनाइएको छ।

    बैठक दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय गरिएको भए पनि केही ढिलाइ भएको छ। बैठकमा सहभागी हुन विभिन्न विपक्षी दलका नेताहरू कांग्रेस संसदीय दलको कार्यालय पुगिसकेका छन्।

    बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन्।

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी रहेको कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको सचिवालयले जनाएको छ।

    नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीसहित संसद् बाहिर रहेका अन्य राजनीतिक दलहरूलाई समेत बैठकमा सहभागी हुन आमन्त्रण गरेको जनाएको छ। विपक्षी दलहरूको यो बैठकलाई पछिल्लो राजनीतिक घटनाक्रममा साझा रणनीति र धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑