२०८३ कार्तिक १६, सोमबार | Mon, 02, Nov, 2026

पाँचखालमा दिउँसै चोरी, घरबाट सुन र नगद गायब


४७१७ पाठक संख्या
  • २०८३ कार्तिक १६, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • मोटरसाइकलमा आएका दुई जनामाथि आशंका, प्रहरी र स्थानिय द्वारा अनुसन्धान सुरु

    काभ्रेपलाञ्चोक, कात्तिक १६ गते । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१० धुरपुरामा दिउँसै चोरी भएको छ। घरमा कोही नभएको मौका छोपेर चोरले सुन र नगद चोरी गरेका हुन्।

    स्थानीय हरिमाया तामाङको घरमा आइतबार दिउँसो करिब १ बजेको समयमा चोरी भएको हो। घरधनी तामाङका अनुसार घरबाट एक तोला सुन र २० हजार रुपैयाँ नगद चोरी भएको छ। दिउँसै घरमा चोरी भएपछि स्थानीयवासी त्रसित बनेका छन्।

    स्थानीय केदारनाथ घिमिरेका अनुसार धुलिखेल नगरपालिका–११ कल्छे क्षेत्रबाट पल्सर मोटरसाइकलमा आएका दुई जना व्यक्तिमाथि चोरीमा संलग्न रहेको आशंका गरिएको छ। स्थानीयले दिएको जानकारीअनुसार उक्त मोटरसाइकल कल्छेबाट पाँचखाल नगरपालिका–१० को नयाँगाउँ हुँदै बालुवा क्षेत्रतर्फ गएको बताइएको छ।

    घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि प्रहरी र स्थानीयवासीले अनुसन्धान सुरु गरेका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छैन।

    पाँचखाल नगरपालिका तथा आसपासका क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू बढ्दै गएको स्थानीयको गुनासो छ। विभिन्न स्थानमा चोरीका घटना भइरहे पनि संलग्न व्यक्तिहरूको पहिचान हुन नसक्दा स्थानीयमा असुरक्षाको भावना बढ्दै गएको छ।

    स्थानीयवासीले यस्ता घटनाको नियन्त्रण, नियमित प्रहरी गस्ती र चोरीमा संलग्न व्यक्तिको तत्काल खोजी गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

    दिउँसै घरमा चोरी हुन थालेपछि पाँचखाल क्षेत्रमा सुरक्षा चुनौती बढ्दै गएको छ। चोरीका घटनामा संलग्न व्यक्तिको पहिचान गरी यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीको सक्रियता आवश्यक देखिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑