काठमाडौँ — सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित मंसिरमा मात्रै तीन ठूला दुर्घटना भए । प्रहरीका अनुसार पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा परेर देशभर २ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।
मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । मंसिर १७ मा बाग्लुङको बडीगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए ।
दुर्घटनामा परी यो महिना घाइते हुनेको संख्या मात्रै १ हजार ४ सय २६ छ । साउनदेखि शनिबारसम्म ७ हजार ५ सय ५ दुर्घटना भएकामा १ हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । यसमा पुरुष ७ सय ४४, महिला १ सय ९०, बालक ६० र बालिका ३७ जना छन् । घाइते हुनेको संख्या भने ७ हजार ९ सय ६१ जना पुगेको छ ।
पछिल्लो पाँच महिनामा १ हजार ३० सर्वसाधारणले ज्यान गुमाउँदा सरकारले एउटा पनि छानबिन समिति गठन गरेको छैन ।
प्रतिक्रिया दिनुहोस