काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुर्गम तथा पहाडी क्षेत्र महाभारत र खानीखोला गाउँपालिकामा पछिल्ला केही वर्षयता कफी खेतीप्रति किसानहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। परम्परागत रूपमा मकै, कोदो, फापरजस्ता खाद्यान्न बालीमा निर्भर किसानहरू अहिले व्यावसायिक कफी खेतीतर्फ उन्मुख भएका छन्। यसले स्थानीय कृषिमा मात्र होइन, ग्रामीण अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन ल्याउन थालेको छ।
बागमती प्रदेश सरकारअन्तर्गत कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले सञ्चालन गरेको ‘समुदायमा एक वडा, एक कृषि उत्पादन’, कफी ब्लक विकास कार्यक्रम तथा कफी प्रवर्द्धन कार्यक्रमले किसानहरूलाई व्यावसायिक कफी खेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ। सरकारी अनुदान, प्राविधिक सहयोग, बिरुवा वितरण तथा बजार व्यवस्थापनका प्रयासले किसानहरूमा कफी खेतीप्रति उत्साह थपिएको हो।
खानीखोला गाउँपालिका–२ फलामेटारस्थित फलामेटार कफी उत्पादक कृषक समूहका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य अक्कलबहादुर थिङका अनुसार खाद्यान्न बालीको तुलनामा कफीबाट राम्रो आम्दानी हुन थालेपछि गाउँका अधिकांश किसान कफी खेतीमा आबद्ध भएका छन्।
उहाँका अनुसार खानीखोला–२ का २६४ घरधुरीमध्ये २६३ घरधुरी कफी खेतीमा संलग्न छन्। गत वर्ष मात्रै उक्त वडामा ६४ हजार कफीका बिरुवा रोपिएका थिए भने चालु आर्थिक वर्षमा थप ३० हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ।
“पहिला अधिकांश किसान मकै, कोदो र फापर खेतीमा निर्भर थिए। अहिले कफीले उनीहरूको आम्दानीको मुख्य आधार बन्न थालेको छ,” थिङले भन्नुभयो, “अब उत्पादनसँगै प्रशोधन र बजारीकरणलाई व्यवस्थित गर्न सके किसानले अझ राम्रो मूल्य पाउनेछन्।”
स्थानीय किसान तिलकबहादुर बल चार वर्षदेखि कफी खेती गर्दै आउनुभएको छ। उहाँले गत आर्थिक वर्षदेखि कफीबाट नियमित आम्दानी लिन सुरु गर्नुभएको हो। उहाँका अनुसार कफी खेती परम्परागत खाद्यान्न बालीको तुलनामा कम श्रमसाध्य र बढी लाभदायक छ।
“गत वर्ष कफी, अदुवा र अलैँची बिक्री गरेर करिब नौ लाख रुपैयाँ आम्दानी गर्न सफल भएँ,” उहाँले भन्नुभयो। उहाँको बगैँचामा हाल करिब पाँच सय कफीका बोट छन्। गाउँपालिकाले उत्पादनको आधारमा प्रतिकिलो ३५ रुपैयाँ प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, स्थानीय कृषक पुण्यकुमारी खुलालले करिब एक हजार कफीका बिरुवा लगाउनुभएको छ। उहाँले गत वर्षदेखि कफीबाट आम्दानी लिन थालेको बताउँदै कफी खेतीले घरखर्च धान्न र आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण सहयोग पुर्याएको बताउनुभयो।
स्थानीय रणबहादुर थोक्करको अनुभव पनि उत्साहजनक छ। उहाँले २०७२ सालमा दुई सय बोट कफी रोपेर खेती सुरु गर्नुभएको थियो। अहिले उहाँको बगैँचामा करिब एक हजार बोट कफी छन्।
“सुरुमा प्रतिकिलो २५० रुपैयाँमा बिक्री हुने कफी अहिले प्रतिकिलो १ हजार १ सय रुपैयाँसम्म बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “कफी खेतीमा धैर्य र मेहनत आवश्यक पर्छ, तर एकपटक उत्पादन दिन थालेपछि राम्रो प्रतिफल पाइन्छ।”
कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कुलप्रसाद दवाडीका अनुसार प्रदेश सरकारको सहयोगमा दुई वर्षदेखि महाभारत गाउँपालिका–५ मा ‘समुदायमा एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत कफी खेती प्रवर्द्धन भइरहेको छ।
त्यसैगरी महाभारत गाउँपालिकाका वडा नम्बर २ र ३ तथा खानीखोला गाउँपालिका–२ मा कफी ब्लक विकास कार्यक्रम सञ्चालन गरिएको छ। खानीखोलाका वडा नम्बर १, ३, ५ र ६ तथा बेथानचोक गाउँपालिका–१ मा कफी प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको छ। चालु आर्थिक वर्षदेखि भुम्लु गाउँपालिकामा समेत कार्यक्रम विस्तार गरिएको छ।
दवाडीका अनुसार गत आर्थिक वर्षमा महाभारत गाउँपालिकामा ३४ हजार कफीका बिरुवा तथा ३ हजार ५ सय छायाँ बिरुवा वितरण गरिएको थियो। खानीखोलामा ३६ हजार कफीका बिरुवा र १ हजार ५ सय छायाँ बिरुवा वितरण गरिएको थियो।
चालु आर्थिक वर्षमा महाभारतमा २५ हजार कफीका बिरुवा र ३ हजार छायाँ बिरुवा तथा खानीखोलामा २५ हजार कफीका बिरुवा र १ हजार ७ सय छायाँ बिरुवा वितरण गरिएको छ।
कफी खेतीलाई थप प्रभावकारी बनाउन महाभारत गाउँपालिकाका चार वटा व्यावसायिक फार्ममा थोपा सिँचाइ प्रणाली जडान गरिएको कार्यालयले जनाएको छ।
कृषि विकास कार्यालयका अनुसार महाभारत गाउँपालिकाबाट वार्षिक करिब ८० मेट्रिक टन, खानीखोलाबाट ७५ मेट्रिक टन तथा भुम्लु र चौंरीदेउराली गाउँपालिकाबाट करिब ३० मेट्रिक टन पार्चमेन्ट कफी उत्पादन तथा निर्यात हुँदै आएको छ।
काभ्रेका पहाडी क्षेत्रमा उत्पादन हुने अर्गानिक कफीको गुणस्तर राम्रो भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्दै गएको कृषि विज्ञहरू बताउँछन्।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले गाउँपालिकाको हावापानी, माटो र भौगोलिक बनावट कफी खेतीका लागि अत्यन्त उपयुक्त रहेको बताउनुभयो।
उहाँका अनुसार गाउँपालिकाले ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रममार्फत किसानलाई प्रतिकिलो ३५ रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ।
“हालसम्म गाउँपालिकाभित्र करिब दुई लाख कफीका बोट रोपिएका छन्,” उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्र कफी खेतीबाट मात्रै वार्षिक २० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छौँ।”
उता महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले ‘जसले रोप्छ कफीको बोट, उसैलाई २० रुपैयाँ नोट’ अभियानमार्फत किसानलाई प्रोत्साहित गरिएको बताउनुभयो। उहाँले महाभारतलाई कफी उत्पादन केन्द्र मात्र नभई कफी पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो।
काभ्रेपलाञ्चोकका पहाडी गाउँहरूमा कफी खेती विस्तारसँगै कृषकहरूको जीवनस्तरमा सुधार आउन थालेको छ। वैदेशिक रोजगारीका लागि गाउँ छाड्ने युवाहरूलाई समेत कृषिमा आकर्षित गर्ने सम्भावना बढेको छ।
स्थानीय तह, प्रदेश सरकार र किसानहरूको सहकार्यबाट अघि बढिरहेको कफी खेती कार्यक्रमले काभ्रेका पहाडी बस्तीमा आर्थिक समृद्धिको नयाँ ढोका खोलेको छ। उत्पादन, प्रशोधन र बजारीकरणलाई थप व्यवस्थित गर्न सके आगामी वर्षहरूमा काभ्रेपलाञ्चोक नेपालको प्रमुख कफी उत्पादन केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस