विराटनगर । धरान उपमहानगरपालिका –१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध प्रयोगकर्ता उनी शनिबार सीमावर्ती जोगवनी पुगे । त्यहाँ लागूऔषध सेवन मात्र गरेनन्, घरका लागि भन्दै लिएर आए ।
बेहुला लागूऔषधमा पक्राउ परेको खबर युवतीको घरसम्म पुग्यो । तर प्रेम सम्बन्धमा रहेकी युवतीले विवाह इन्कार गरिनन् ।आइतबार बिहान धनकुटा जाने जन्ती बेहुला लिन विराटनगर आयो । जिल्ला प्रहरी कार्यालय मोरङले आमाको जमानीमा दुईजना प्रहरी साथमा लगाएर बेहुलालाई लैजान अनुमति दियो ।
बिहे सम्पन्न भयो । कमलले सोमबार विहान बेहुलीलाई घरमा प्रवेश गराए । घरमा विवाह उत्सव चलिरहेको थियो, तर नवदुलाह त्यहाँ बसिरहन पाएनन् । आफन्तले टीका लगाइदिएपछि बेहुलासँगै जन्ती गएका प्रहरीले कमललाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।
उनलाई मंगलबार लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु थालिएको प्रहरीले जनाएको छ ।धरानको रत्नरोडमा सुन पसल गर्दै आएका कमल परिवारको जेठा छोरा हुन् । एक वर्ष अघि बुबाको मृत्यु भएपछि उनले लागूऔषध सेवन गर्न थालेको बताइएको छ । तर उनले भने आफूलाई फसाउन अरु कसैले लागूऔषध राखिदिएको बयान प्रहरीसामू दिएका छन् ।
प्रतिक्रिया दिनुहोस