काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकार र पार्टीको विरोध सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट बढी भइरहेको बताएका छन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालका स्रोत ‘बुर्जुवा’हरुको कब्जामा रहेको भन्दै त्यसको प्रतिकारको तयारी गर्न पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । नेकपा सम्वद्ध प्रेस संगठनले प्रधानमन्त्री निवासमा आयोजन गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘बुर्जुवाहरु’ले सूचना प्रविधिको दुरुपयोग गरिरहेको भन्दै उनीहरुलाई जित्नेगरी आफ्ना हतियार धारिलो बनाउन निर्देशन गरेका थिए।
वर्तमान विश्व परिस्थिति र जनमत एक लेख र समाचारकै वरिपरी घुम्न थालेको भन्दै दाहालले अग्रमोर्चाको लडाईं जित्नका लागि नयाँ मोर्चाको तयारी थाल्न निर्देशन दिए। उनले कसरी पार्टीको पक्षमा काम गर्ने भनेर तयारीसहित कार्यक्रम बनाउन आग्रह गरेका थिए। विगतमा सत्ताबाट बाहिर भएकाहरु गणतान्त्रिक सरकारलाई हटाउने खेल रच्न थाल्ने उनको भनाइ थियो।
‘यी दुःख पाएका गरिब, श्रमजिवीहरु धेरै धन पनि नभएका, बुद्धिपनि नभएकाहरुले मिलेर हाम्रो लडाई, हाम्रो राज्य उल्ट्याउन, हामीलाई गद्दीबाट गहल्त्याउलान् भन्ने उनीहरुले पत्याएका थिएनन्’, दाहालले भने, ‘उनीहरुसँग पैसाको तागत हुन्छ। उनीहरुसँग अनुभवको तागत हुन्छ। उनीहरुसँग शासनसत्ता कसरी चलाउने भन्ने अनुभव हुन्छ। यी कुराहरु प्रयोग गरेर फेरी प्रतिक्रान्ति गर्ने तानाबाना बुन्छन्।’
प्रतिक्रिया दिनुहोस