काभ्रे – निरन्तर परेको अविरल वर्षाका कारण काभ्रे काे ठाउँठाउँमा पहिरो गए लगत्तै काभ्रेपलान्चोकका दुई गाउँपालिकामा यातायात ठप्प भएको छ । दूर्गम डाँडापारि क्षेत्रको महाभारत र खानीखोला गाउँपालिका जोड्ने सडकखण्डको ठाउँठाउँमा पहिरो गएपछि जिल्ला सदरमुकाम आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो ।
जिल्ला सदरमुकामबाट महाभारत गाउँपालिका जोड्ने ‘बनेपा–कटुञ्जे–सिपाली–बुढाखानी–बनखु’ सडकखण्डको महाभारत–६ घ्याब्रिङमा पहिरो गएपछि सवारी साधन चल्न नसकेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयाे । सडक अवरुद्ध भएपछि अहिले डाँडापारिबाट जिल्ला सदरमुकाम आवतजावत गर्नका लागि रोशी गाउँपालिकाको सिसाखानी रोशी खोलासम्म हिँड्नु पर्ने बाध्यता छ ।
उता डाँडापारि क्षेत्रकै विकट खानीखोला गाउँपालिका जोड्ने सडक खण्डको पनि ठाउँ–ठाउँमा पहिरो गएका कारण यातायातको साधन चल्न सकेको छैन । सदरमुकामसँग गाउँपालिका केन्द्र तालढुङ्गा जोडिएको ‘पनौती–खोपासी–तालढुङ्गा’ सडकखण्डको स्याउरीथलीमा अविरल वर्षाका कारण पहिरो गएर सडक नै बगाएपछि अहिले गाडी चल्न नसकेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए। जिल्ला सदरमुकाम आवतजावतका लागि अहिले खोपासीसम्म पैदल हिड्नुपर्ने बाध्यता रहेको छ ।
यसैबीच अविरलरुपमा परेको वर्षाका कारण बनेपाको पुल बजार क्षेत्र डुबानमा परेकाे कारण अरनिको राजमार्ग भएर गुड्ने सवारी साधन सञ्चालनमा समस्या भएको छ । पुन्यमाता खोलामा आएको बाढीले बजारक्षेत्र डुबानमा पर्नु का साथै सडकमा आवतजावत गर्न समस्या हुनुका साथै यहाँका स्थानीय बासिन्दा समस्यामा परेका छन् । त्यस्तै अविरल वर्षाका कारण बीपी राजमार्ग सडकखण्ड अन्तर्गत नमोबुद्ध नगरपालिका–५ ल्हासकोटास्थित क्रसर उद्योगले थुपारेको डस्ट बगाएर भएको सडक अवरुद्ध दिउँसोबाट खुलेको छ ।
सडकमाथि भित्तामा सञ्चालन गरेको मनकामना क्रसर उद्योगले सडकमाथि थुपारेको डस्ट बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । सो अवरुद्ध सडक दिउँसोबाट सञ्चालनमा आएको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए ।त्यसै गरी पाँचखाल मुख्य राजमार्ग अरनिको हाईवय काे ३५ किलो मा रुख ढलेर सडक अबरुद्ध हुनु का साथै ठाउँ ठाउँमा गएकाे पहिराे काे कारण यातायात संचालनमा जाेखिम रहेकाे छ भने धुलिखेल नगरपालिका काे तिरतिरे धारा मा आएकाे पहिराेकाे कारण समेत सडक यातायात मा जाेखिम बढेकाे जानकारी प्राप्त भएकाे छ . रासस
प्रतिक्रिया दिनुहोस