२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

३१ जनप्रतिनिधिका पद रिक्त


३६०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ११ मंसिर, काठमाडौं । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ ।

    यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको छ ।

    गत निर्वाचनमा निर्वाचित मकवानपुरको भिमफेदी गाउँपालिका ८ का वडाअध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका पुगेका छन् । घिसिङ अमेरिका हानिएपछि उनको स्थान १ भदौ ०७६ देखि रिक्त छ ।

    यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ५ का वडाअध्यक्ष बम बहादुर घले वडाअध्यक्ष पद त्यागेर जागिर खान भन्दै कोरिया गएका छन् । वडाअध्यक्ष नै कोरिया गएपछि ०७५ मंसिरदेखि खाँदबारी नगरपालिका वडा नं. ५ का वडावासी नेतृत्वविहीन छन् ।

    सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । प्रदेश नम्बर एकमा पर्ने सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ

    तनहुँको भानु नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष प्रकाश मल्ल नागरिकता किर्ते गरेको अभियोगमा जेल परेका छन् । जनप्रतिनिधि नै किर्ते नागरिकता दिलाउने कार्यमा संलग्न भएपछि मल्लको पद गयो र २२ भदौ ०७७ देखि उनको स्थान खाली छ ।

    रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का श्रवण कुमार यादव भ्रष्टाचारको अभियोगमा निलम्बित छन् । यादवलाई निलम्बित भएपछि सम्मरीमाई गाउँपालिका–५ का वडावासी पनि ९ चैत ०७६ देखि नेतृत्वविहीन छन् ।

    यस्तै, पाल्पाका जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन भएपछि उनको स्थान ०५ मंसिर ०७६ देखि खाली छ ।

    संघीय मामिला मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।

    हालसम्म ६१ जिल्लाबाट मात्र विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसमा २१ जिल्लाका बिभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको पाइएको मन्त्रालयले जनाएको छ । ‘बाँकी जिल्लामा रिक्त नभएर नआएको हुन सक्छ । तथापि हामीले पुनः पत्र पठाएका छौं,’ मन्त्रालयका शाखा अधिकृत महेश कुमार दाहालले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार