काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिका स्तरीय अन्तर–मावि “बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू“ शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त प्रतियोगिताको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) रहनुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष थिङले बालविवाह समाजमा गम्भीर समस्या भएको भन्दै यसको अन्त्यका लागि युवाहरूकै सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता चेतनामूलक कार्यक्रमहरू पालिकामा निरन्तर आयोजना गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमको सभाध्याक्षको जिम्मेवारी वडा नं. ४ का वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक निशान मोक्तानले सम्हाल्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथिमा उपाध्यक्ष दोर्जे मान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याल, निर्णायक मण्डलका प्रतिनिधि प्रकाश कोइराला, शिक्षा शाखा प्रमुख चक्रबहादुर थापा, महिला तथा बालबालिका शाखा प्रमुख तथा वडा नं. ५ की सचिव चण्डिका थापा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीय विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयहरूमध्ये सात विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । विद्यार्थीहरूले बालविवाहका नकारात्मक प्रभाव र न्यूनीकरणका उपायहरूबारे ओजपूर्ण प्रस्तुतिले सहभागिहरुको मन छोएको थियो ।
प्रतियोगितामा जनविकास माविकी नेहा खुलालले प्रथम स्थान हासिल गर्दै नगद रु. १० हजार र सम्मानपत्र प्राप्त गर्नुभएको थियो ।
शारदा माविकी सुनिता थोकरले द्वितीय स्थानमा हासिल गर्दै ७ हजार ५ सय नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो भने तृतीय स्थान जनविकास माविकै युवराज ठकुरीले प्राप्त गर्दे ४ हजार नगद सहित सम्मानपत्र प्राप्त गर्नुभयो । त्यस्तै, कुमारी माविका सुमन सिंतान र भृकुटी माविकी रजनी टुम्सिङ्ग मगरले सान्त्वना पुरस्कार स्वरूप रु. २, हजार नगद र सम्मानपत्र प्राप्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन शिक्षा शाखा प्रमुख चक्रबहादुर थापाले गर्नुभएको थियो । कार्यक्रममा आयोजक पक्षले बालविवाह जस्तो गम्भीर सामाजिक विषयमा विद्यार्थीहरूमा चेतना फैलाउनुका साथै युवा पुस्तालाई सकारात्मक रूपमा सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस