२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

शिभिल अस्पतालका चिकित्सक पाँचखालमा, निःशुल्क शिविरमा १७७४ जनाको उपचार


७३५९ पाठक संख्या
  • २०८२ आश्विन २९, बुधबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–६, दुलालथोकस्थित आधारभूत अस्पतालमा दुई दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा निजामति कर्मचारी अस्पताल (शिभिल) का चिकित्सकसहितको टोलीले १७७४ जनाको उपचार गरेको हो।

    शिविरमा निजामति कर्मचारी अस्पताल मीनभवन, काठमाडौंबाट ४६ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी, पाँचखाल नगरपालिकाबाट ६० जना तथा रेयुकाई आँखा अस्पताल बनेपाबाट १ जना गरी कुल १०७ जनाको टोली सहभागी थियो।

    निजामति सेवा दिवस–२०८२ को अवसरमा निजामति कर्मचारी अस्पताल र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा आयोजित सो शिविरका लागि शिभिल अस्पतालले १२ लाख रुपैयाँ र पाँचखाल नगरपालिकाले ५ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गरेको थियो। नगरपालिकाले शिविर सञ्चालनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएको थियो।

    नगर स्वास्थ्य शाखा प्रमुख कोपिला कार्कीका अनुसार, दुई दिन सञ्चालन भएको शिविरमा पहिलो दिन ८९४ र दोस्रो दिन ८८० जना सहभागी भएका थिए। सहभागीहरूले एकैपटक विभिन्न स्वास्थ्य परीक्षण र परामर्श सेवा लिएका थिए।

    शिविरमा फिजियोथेरापी, हाडजोर्नी, छालारोग, सर्जरी, इसिजी, स्त्रीरोग, एक्स–रे, ल्याब, दन्तरोग, आँखारोग, नाक–कान–घाँटी, बालरोग, भिडियो एक्स–रे, मानसिक रोग लगायतका सेवा प्रदान गरिएको थियो।

    आँखा परीक्षणका क्रममा शल्यक्रिया आवश्यक देखिएका बिरामीहरूको निःशुल्क शल्यक्रिया रेयुकाई आँखा अस्पताल बनेपाले गर्ने र त्यसको व्यवस्थापन पाँचखाल नगरपालिकाले गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार