२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

राजतन्त्र मागसहित देशव्यापी आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईँ पक्राउ


९१२७ पाठक संख्या
  • २०८२ मंसिर २, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ आफूले चलाइरहेको अभियानका कारण फेरि कानुनी प्रक्रियामा परेका छन्।

    बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध आवाज उठाउँदै, पीडितहरूलाई संगठित गरी आन्दोलन चलाइरहेका प्रसाईँले हालै राजसंस्था पुनर्स्थापनासहित २७ बुँदे राजनीतिक माग सार्वजनिक गरेका थिए।

    यिनै माग पूरा गर्न दबाब सिर्जना गर्ने उद्देश्यले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईँलाई प्रहरीले गएराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। हिंसा भड्किन सक्ने सम्भावनाका आधारमा सरकारी निर्देशनअनुसार उनीमाथि नियन्त्रण लिइएको प्रहरीको भनाइ छ। उनको हिजो आजको आक्रामक अभिव्यक्ति र गतिविधिका कारण गत एक वर्षयता पटक–पटक पक्राउ र रिहाइ भइरहेकाले यस पटक पनि उनी काठमाडौँ प्रहरी परिसरको हिरासतमा छन्।

    क्यान्सरका बिरामीसमेत रहेका प्रसाईँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको विषयमा विवादित अभिव्यक्ति दिएको आरोपमा एक वर्षअघि पक्राउ परेका थिए। त्यसयता विभिन्न मुद्दामा उनलाई पटक–पटक पक्राउ–रिहाइको क्रम चल्दै आएको छ।

    गत वर्ष मंसिर ४ मा भक्तपुरस्थित घरबाट सीआईबीले उनलाई पक्राउ गरेको थियो, जुन उनके अभियान सुरुरहेको बेला पहिलो गिरफ्तारी मानिन्छ। केहीदिनपछि ‘फेक डकुमेन्ट’ का आधारमा ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा फेरि पक्राउ परे। विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत धरौटी बुझाए तापनि आपराधिक लाभसम्बन्धी मुद्दा चलिरहेका कारण प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो। भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपाली व्यवसायीलाई धम्क्याउन उनको संलग्नता रहेको आरोप पनि त्यहीबेला उठेको थियो।

    तर, सर्वोच्च अदालतको आदेशपछि पुस २७ मा उनी रिहा भए। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसहितका अन्य मुद्दाहरू पनि दर्ता छन्।

    यतिबेलासम्म पनि आफ्नो अभियान आक्रामक शैलीमै अगाडि बढाउँदै आएका प्रसाईँ २०८१ चैत १५ मा राजधानीको तीनकुनेमा भएको राजतन्त्र समर्थक प्रदर्शनमा ‘कमान्डर’ को भूमिकामा देखिएका थिए। सो प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको मृत्यु भयो, जसपछिका दिनमा उनी पुनः पक्राउ परे। उनी भारत भागेको बताइए पनि प्रहरीले झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको दाबी गरेको छ।

    भारत–नेपालबीच सुपुर्दगी सन्धि नभएकाले सीमामा अनौपचारिक समन्वयमार्फत पक्राउ प्रक्रिया सम्पन्न भएको स्रोतले बताउँछ। अदालतले जेठ ३० मा उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। राज्यविरुद्धको कसुर, कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराधलगायतका मुद्दामा सरकारका तर्फबाट सजाय मागदाबी गरिएको थियो।

    तर, साउनमा उच्च अदालत पाटनबाट धरौटी आदेश आएपछि प्रसाईँ डिल्लीबजार कारागारबाट रिहा भए। त्यसयता उनी पुनः अभियानमै सक्रिय रहँदै आएका थिए। सोही अभियानको निरन्तरतामा मंसिर ७ देखि आन्दोलनमा आउने तयारी गरिरहँदा उनी त्यसअघि नै पक्राउ परेका हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार