२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

आज काभ्रेपलाञ्चोक प्रहरीले तीन जनालाई झ्याप


६५०१ पाठक संख्या
  • २०८३ जेष्ठ २६, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रे, जेठ २६ – जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएर फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १२ वर्षदेखि फरार अवस्थामा रहेका थिए।

    प्रहरीका अनुसार जबर्जस्ती करणी मुद्दामा पाँच वर्ष कैद सजाय सुनाइएका रोशी गाउँपालिका–४ का ३९ वर्षीय होमबहादुर कार्कीलाई सोमबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार अदालतको फैसला कार्यान्वयनबाट बच्न १२ वर्षदेखि लुकीछिपी बस्दै आएका कार्कीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

    यस्तै, लेनदेन कारोबार मुद्दामा दुई वर्ष कैद सजाय र १५ लाख रुपैयाँ जरिवाना तोकिएका पनौती नगरपालिका–५ का ६२ वर्षीय शालिकराम सापकोटा तथा बैंकिङ कारोबार मुद्दामा दुई वर्ष कैद सजाय र चार लाख रुपैयाँ जरिवाना फैसला भएका सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–३२ बस्दै आएका २७ वर्षीय रमेश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

    पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धुलिखेलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। अदालतको आदेशअनुसार उनीहरूलाई तोकिएको सजाय तथा जरिवाना कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।

    यसैबीच, नमोबुद्ध नगरपालिका–४ स्थित बीपी राजमार्ग क्षेत्रमा लागुपदार्थ सेवन गरिरहेको अवस्थामा सिराहाको गोलबजार नगरपालिका–२ का दुई युवालाई पनि सोमबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूमाथि लागुपदार्थ सेवनसम्बन्धी मुद्दामा १५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको बताएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु