काभ्रे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी र स्वेच्छाचारी निर्णय खारेजी तथा नेपाल पत्रकार महासंघले अघि सारेका मागहरूको कार्यान्वयनको माग गर्दै काभ्रेका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि धर्ना दिएका छन्।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आह्वानमा आयोजित धर्ना कार्यक्रममा पत्रकारहरूले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै सरकारका पछिल्ला निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन्।
धर्नामा सहभागी पत्रकारहरूले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर”, “सूचना र विज्ञापन सम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी निर्णय खारेज गर” लगायतका नारासहित विरोध प्रदर्शन गरेका थिए।
उनीहरूले सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी अभ्यासले स्वतन्त्र पत्रकारिता र सञ्चारमाध्यमको अस्तित्वमाथि गम्भीर चुनौती सिर्जना गरेको बताएका छन्। साथै, राज्यका निकायबाट हुने सबै निर्णयहरू संविधानको मर्म, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार हुनुपर्नेमा जोड दिएका छन्।
पत्रकारहरूले विवादित निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अझ सशक्त बनाइने चेतावनी समेत दिएका छन्।धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।





प्रतिक्रिया दिनुहोस