२०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

ज्ञानकुञ्जको सन्देश : शिक्षा केवल प्रमाणपत्र होइन, व्यक्तित्व निर्माणको आधार


१२४९ पाठक संख्या
  • २०८३ अषाढ २, मंगलबार मा प्रकाशित ६ घण्टा अघि
  • बनेपा, काभ्रे, २ असार । काभ्रेको अग्रणी शैक्षिक संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ।

    विद्यार्थी, अभिभावक, शिक्षक, पत्रकार तथा प्रशासनिक कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा शिक्षालाई केवल प्रमाणपत्र प्राप्तिको माध्यम नभई व्यक्तित्व निर्माण र जीवनोपयोगी सीप विकासको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो।

    प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा सहायक कलेज प्रमुख नवराज चौलागाईंले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै वर्तमान प्रतिस्पर्धी युगमा व्यवहारिक, व्यावसायिक तथा गुणस्तरीय शिक्षाको महत्वबारे प्रकाश पारे। उनले ज्ञानकुञ्जले पाठ्यपुस्तकमा आधारित शिक्षामात्र नभई विद्यार्थीको सर्वाङ्गीण व्यक्तित्व विकासलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको बताए।

    “आजको युगमा केवल शैक्षिक प्रमाणपत्रले मात्र सफलता सुनिश्चित गर्दैन। विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, नैतिकता र व्यवहारिक सीपको विकास उत्तिकै आवश्यक छ,” उनले भने।

    कार्यक्रममा सहायक प्रिन्सिपल राजन दाहालले नैतिक शिक्षाको महत्वबारे चर्चा गर्दै आधुनिक शिक्षा प्रणालीमा मूल्य र मान्यताको संरक्षण अपरिहार्य रहेको धारणा व्यक्त गरे। उनले ज्ञानकुञ्जले विद्यार्थीहरूमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व तथा नैतिक चरित्र विकासका लागि निरन्तर पहल गरिरहेको जानकारी दिए।

    अभिमुखीकरण कार्यक्रममा कला, सञ्चार तथा खेलकुद क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा कलाकार भूषण भौमी श्रेष्ठ, कलाकार तथा सञ्चारकर्मी सचित खड्का र अन्तर्राष्ट्रिय भलिबल रेफ्री विजय केसी रहेका थिए।

    कार्यक्रमको प्रमुख आकर्षण हास्यकलाकार जितु नेपालको प्रस्तुति बनेको थियो। उनले हास्यव्यङ्ग्य शैलीमा शिक्षा, जीवनशैली, सामाजिक मूल्य तथा युवापुस्ताको भूमिकासम्बन्धी सन्देश प्रस्तुत गर्दै सहभागीहरूलाई मनोरञ्जनका साथै प्रेरणा प्रदान गरेका थिए। विद्यार्थी र अभिभावकहरूले उनको प्रस्तुति ज्ञानवर्द्धक, मनोरञ्जनात्मक र सन्देशमूलक रहेको प्रतिक्रिया दिएका थिए।

    समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुरकृष्ण वैद्यले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रमा सीमित राख्न नहुने उल्लेख गर्दै सिर्जनशीलता, नेतृत्व क्षमता र जीवनोपयोगी सीप विकासलाई केन्द्रमा राखेर शिक्षण प्रक्रिया अघि बढाउनुपर्ने बताए। उनले ज्ञानकुञ्जलाई विद्यार्थीहरूको बहुआयामिक विकासका लागि उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्‍याए।

    कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो। यस्ता प्रस्तुतिले नवआगन्तुक विद्यार्थीहरूमा उत्साह, आत्मविश्वास र संस्थाप्रति अपनत्वको भावना अभिवृद्धि गरेको आयोजकले जनाएको छ।

    प्रतिष्ठानका अनुसार अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य नवआगन्तुक विद्यार्थीहरूलाई संस्थाको शैक्षिक वातावरण, कार्यप्रणाली, नीति तथा मूल्य–मान्यतासँग परिचित गराउनुका साथै अध्ययनप्रति सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्नु रहेको थियो।

    ज्ञानकुञ्जले आगामी दिनमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी यस्ता प्रेरणादायी, प्रभावकारी तथा व्यक्तित्व विकासमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार