
काभ्रेपलाञ्चोक , ३ असार । सामाजिक सञ्जालमार्फत विवाहको प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
साइबर ब्यूरोले मंगलबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार अमेरिकामा बसोबास गर्ने नेपाली युवतीको नाम र तस्बिर प्रयोग गरी नक्कली टिकटक आईडी सञ्चालन गर्दै ठगीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार आरोपीहरूले टिकटकमार्फत एक पुरुषसँग चिनजान बढाई प्रेम सम्बन्धको नाटक गरेका थिए। त्यसपछि विवाह गर्ने आश्वासन दिँदै विभिन्न बहाना बनाएर पटक–पटक रकम मागेका थिए। पीडितले विश्वासका आधारमा विभिन्न समयमा गरी करिब १५ लाख ५० हजार रुपैयाँ पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
ठगी भएको महसुस गरेपछि पीडितले साइबर ब्यूरोमा उजुरी दिएका थिए। उजुरीपछि गरिएको अनुसन्धानका क्रममा आरोपीहरूको पहिचान गरी पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेहरूमा स्याङजा जिल्ला भिरकोट नगरपालिका वडा नं २ लुगाडाडा घर भई हाल काठमाडौं काठमाडौ माछापोखरी बस्ने संजिव नेपाली र काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं १२ घर भई हाल काठमाडौ माछापोखरी बस्ने (अनुष्का भन्ने) सरिता पराजुली रहेका छन्।
प्रहरीले उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
साइबर ब्यूरोले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग सम्बन्ध गाँस्दा सावधानी अपनाउन तथा विवाह, रोजगारी, उपहार, लगानी लगायतका आकर्षक प्रस्तावको नाममा रकम मागिएमा सत्यता नबुझी पैसा नपठाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





प्रतिक्रिया दिनुहोस