काठमाडौं। हिजो काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मोटरसाइकल नियन्त्रणमा लिने क्रममा विवाद भएपछि एक जना पठाओ चालकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएका २५ वर्षीय गणेश नेपालीले हिजो दिउँसो करिब १ः४५ बजे राहदानी विभागको गेट नम्बर ३ अगाडि उक्त प्रयास गरेका हुन्।
प्रहरीका अनुसार नेपालीले प्रयोग गर्दै आएको बागमती प्रदेश ०२–०६४ प ३२५० नम्बरको मोटरसाइकल राहदानी विभाग अगाडि पार्क गरेका थिए। त्यसक्रममा काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोलीले अवैध पार्किङ हटाउने अभियानअन्तर्गत मोटरसाइकलमा ‘ह्वील लक’ लगाएको थियो। त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिने क्रममा चालक नेपाली र नगर प्रहरीबीच विवाद भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालीले मोटरसाइकल नउठाउन आग्रह गरेका थिए। त्यसपछि उनले पेट्रोल शरीरमा छर्केर आगो लगाएका थिए। आगो लागेपछि तत्काल उनलाई ट्याक्सीमार्फत वीर अस्पताल पुर्याइएको थियो। उनको शरीरको अधिकांश भाग जलेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा रहेका केही प्रत्यक्षदर्शीका अनुसार शरीरमा आगो दन्किरहेका बेला पनि नेपालीले नगर प्रहरीसँग आफ्नो मोटरसाइकल नउठाउन आग्रह गर्दै चिच्याइरहेका थिए। उनी आगो लागेको अवस्थामै नगर प्रहरीको भ्यानतर्फ पुगेको र केही समयपछि सडकमा ढलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्थानीयवासीका अनुसार आगो लागेपछि वरपर रहेका युवाहरूले नजिकका पसलबाट पानी ल्याई आगो निभाउने प्रयास गरेका थिए। केही समयपछि उनको शरीरमा लागेको आगो नियन्त्रणमा आएको थियो।
घटनापछि नगर प्रहरीको भ्यान राहदानी विभाग परिसरमै रोकिएको थियो भने नेपालीको मोटरसाइकल पनि भ्यानमै रहेको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनामा प्रयोग गरिएको पेट्रोल मोटरसाइकलबाट निकालिएको हो वा छुट्टै बोतलमा ल्याइएको थियो भन्ने विषयमा भने फरक–फरक दाबी आएका छन्। प्रहरीले यसबारे स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको र अनुसन्धान जारी रहेको जनाएको छ।
एसपी भट्टराईका अनुसार घटनास्थल वरपरका सबै सीसीटीभी फुटेज संकलन गरिएको छ। घटनाको कारण, नगर प्रहरीको भूमिकालगायत सबै पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाबारे काठमाडौं महानगरपालिकाको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। अनुसन्धानपछि घटनाको वास्तविक विवरण खुल्ने प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस