२०८३ अषाढ २६, शुक्रबार | Fri, 10, Jul, 2026

आत्मदाह प्रकरणले ततायो राजधानी, महानगर घेराउ गर्न खोज्ने प्रदर्शनकारी सुन्धारामै रोकिए


११४५ पाठक संख्या
  • २०८३ अषाढ २६, शुक्रबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौं, २६ असार। मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने प्रयास गरेका छन्। महानगरतर्फ अघि बढिरहेका प्रदर्शनकारीलाई प्रहरीले सुन्धारामै रोकेको हो।

    वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो काठमाडौं महानगरपालिकाको कार्यालय रहेको स्थानतर्फ मार्च गरिरहेका प्रदर्शनकारीलाई प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउँदै अघि बढ्न नदिएको थियो। त्यसक्रममा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।

    गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। गम्भीर अवस्थामा रहेका उनको वीर अस्पतालस्थित बर्न सेन्टरमा उपचार भइरहेका बेला शुक्रबार मृत्यु भएको हो।

    भक्तपुरमा श्रीमती र छोरीसँग बस्दै आएका नेपाली राइड सेयरिङ एपमार्फत मोटरसाइकल चालक (राइडर) का रूपमा जीविकोपार्जन गर्दै आएका थिए। आफूले पार्किङ गरेको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्विल लक लगाएर नियन्त्रणमा लिन खोजेपछि उनले आक्रोशमा आत्मदाहको प्रयास गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

    गणेशको मृत्यु भएपछि घटनाको निष्पक्ष छानबिन, जिम्मेवारमाथि कारबाही तथा पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गर्दै प्रदर्शन भइरहेको छ। घटनापछि राजधानीमा जनचासो बढेको छ भने सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार