२०८३ अषाढ २५, बिहिबार | Thu, 09, Jul, 2026

राष्ट्रिय सभाको तीव्र गति: एकै बैठकमा ६ विधेयक पारित


१०६७ पाठक संख्या
  • २०८३ अषाढ २५, बिहिबार मा प्रकाशित ३ घण्टा अघि
  • काठमाडौं, २५ असार । राष्ट्रिय सभाले एकै दिन ६ वटा महत्त्वपूर्ण विधेयक पारित गर्दै संसदीय प्रक्रियामा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेट आश्रित विधेयक पारित गरी थप प्रक्रियाका लागि प्रतिनिधिसभामा पठाएको हो।

    राष्ट्रिय सभाका सभाध्यक्ष नारायण दाहालले यसलाई सभाको प्रभावकारी कार्यसम्पादनको उदाहरणका रूपमा व्याख्या गरेका छन्। उनले राष्ट्रिय सभाले समितिमा विस्तृत छलफलपछि चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र सभामै छलफल गरी दुई वटा बजेट आश्रित विधेयक एकै दिन पारित गर्न सफल भएको बताएका छन्।

    सभाध्यक्ष दाहालका अनुसार संसदीय समितिको प्रतिवेदनसहित पारित भएका अध्यादेश प्रतिस्थापन विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेका छन्।

    त्यसैगरी, सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित आर्थिक विधेयक, २०८३राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पनि राष्ट्रिय सभाबाट पारित भएका छन्।

    एकै दिनमा आधा दर्जन विधेयक पारित हुनुलाई संसद्को विधायिकी भूमिकामा आएको सक्रियताको संकेतका रूपमा हेरिएको छ। विशेषगरी सार्वजनिक खरिद, सहकारी क्षेत्र सुधार, सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा संशोधन गर्ने विधेयकहरू पारित भएपछि सम्बन्धित क्षेत्रमा नीतिगत सुधार र नियमन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    राष्ट्रिय सभाबाट पारित भएका यी विधेयकहरू अब प्रतिनिधिसभामा छलफल तथा अनुमोदन प्रक्रियाका लागि पठाइनेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार