२०८३ अषाढ २३, मंगलबार | Tue, 07, Jul, 2026

देवरले भाउजूको हत्या, बचाउमा पुगेका ठुलोबुबा पनि घाइते


२५४९ पाठक संख्या
  • २०८३ अषाढ २३, मंगलबार मा प्रकाशित ७ घण्टा अघि
  • विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पारिवारिक विवादको आशंकाबीच एक युवाले आफ्नै भाउजूको खुकुरी प्रहार गरी हत्या गरेका छन्। घटनामा बचाउन गएका एक जना आफन्त पनि घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका–६ झोवाबनी निवासी २१ वर्षीय सौचन खवासले असार २२ गते राति करिब साढे ८ बजे आफ्ना दाजु कपिल खवासकी २० वर्षीया श्रीमती सीमा राजवंशीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्भीर चोट लागेपछि सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले हत्या किन र के कारणले भयो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

    घटनाका क्रममा सीमालाई बचाउन प्रयास गर्ने सोही स्थानका ४४ वर्षीय शिवलाल खवास पनि घाइते भएका छन्। उनी सौचनका ठुलोबुबा नाता पर्ने व्यक्ति हुन्। खुकुरी प्रहारबाट उनको दाहिने कुममा गहिरो चोट लागेको छ। घाइते शिवलाललाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

    घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैँचाबाट प्रहरी नायब निरीक्षक मोतिराज दाहाल तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

    प्रहरीले घटनामा संलग्न सौचन खवासलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ। मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठका अनुसार घटनाका सबै पक्षबारे अनुसन्धान जारी रहेको छ।

    यस घटनाले ग्रामथान क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ भने प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार