२०८३ अषाढ ३१, बुधबार | Wed, 15, Jul, 2026

ऐतिहासिक निर्णय गर्दै पाँचखाल: दलित शिशुको खातामा नगरले राख्नेछ १ लाख, १ अर्ब २९ करोडको जनमुखी बजेट पारित


२७३१ पाठक संख्या
  • २०८३ अषाढ ३१, बुधबार मा प्रकाशित ८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले १९औँ नगरसभाबाट सामाजिक न्याय र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै नेपालमै उदाहरणीय मानिने निर्णयहरू सार्वजनिक गरेको छ।

    आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब २९ करोड ११ लाख १५ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गर्दै नगरपालिकाले दलित समुदायका नवजात शिशुका लागि दीर्घकालीन आर्थिक सुरक्षा कार्यक्रमदेखि वनलाई आयआर्जनसँग जोड्ने योजना, गरिबमुखी नीति र पूर्वाधार विकासका कार्यक्रम अघि सारेको हो।

    नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख महेश खरेलले सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति पाँचखाल नगरपालिकाको तर्फबाट सार्वजनिक रूपमा क्षमायाचना गर्नुभयो। विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउने घोषणा गर्दै उहाँले नेपालमै पहिलो पटक लागू हुने दाबी गरिएको ‘दलित नवजात आर्थिक सुरक्षा कार्यक्रम’ सार्वजनिक गर्नुभयो।

    उहाँका अनुसार अब पाँचखाल नगरपालिकाभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरपालिकाले १ लाख रुपैयाँ बैंक खातामा जम्मा गरिदिनेछ। उक्त रकम १८ वर्षसम्म झिक्न नपाइने व्यवस्था गरिएको छ। १८ वर्ष पुगेपछि चक्रवृद्धि ब्याजसहित प्राप्त हुने रकम उच्च शिक्षा, सीप विकास वा करियर निर्माणमा उपयोग गर्न सकिनेछ। यदि १८ वर्ष नपुग्दै शिशुको मृत्यु भएमा उक्त रकम उनकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।

    मेयर खरेलले यो कार्यक्रम प्रचारका लागि नभई दलित समुदायको दीर्घकालीन आर्थिक सशक्तीकरणका लागि ल्याइएको उल्लेख गर्दै गरिबीका कारण उत्पन्न हुने चरम निराशा र सामाजिक असमानताको अन्त्य गर्ने उद्देश्य रहेको बताउनुभयो।

    गरिबलाई विस्थापित होइन, आत्मनिर्भर बनाउने नीति

    नगरसभामा नगर प्रमुख खरेलले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीप्रति नगरपालिकाको नीति स्पष्ट पार्दै गरिबमाथि दमन नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सडक किनारमा काफल बेच्ने, मकै पोल्ने वा साना व्यापार गरेर जीविकोपार्जन गर्ने नागरिकलाई विस्थापित गर्ने नभई उनीहरूको जीविकोपार्जन सुरक्षित गर्दै आत्मनिर्भर बनाउने नीति नगरपालिकाले लिएको उहाँको भनाइ थियो।

    यदि नगर प्रहरी, कर्मचारी वा जनप्रतिनिधिबाट गरिब व्यवसायीमाथि दुर्व्यवहार भएको पाइए तत्काल कारबाही गरिने चेतावनी पनि उहाँले दिनुभयो।

    वनलाई बनाइने आयआर्जनको आधार

    नगरपालिकाले आगामी दशकमा वन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने लक्ष्य राखेको छ। प्रत्येक सामुदायिक वनमा फलफूल तथा बहुउपयोगी बिरुवा रोपेर एक लाखभन्दा बढी बिरुवा हुर्काउने योजना सार्वजनिक गरिएको छ।

    वडा नं. १३ स्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिको सफल अभ्यासलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै अन्य वडाले पनि यस्तै आयमूलक योजना ल्याए बजेट संशोधन गरेरै भए पनि थप बजेट उपलब्ध गराउने प्रतिबद्धता मेयर खरेलले जनाउनुभयो।

    संघ–प्रदेशको समन्वय अभाव गुनासो

    मेयर खरेलले संघीय तथा प्रदेश सरकारले स्थानीय आवश्यकताभन्दा फरक प्राथमिकतामा बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। सडक मर्मत, खाल्डाखुल्डी व्यवस्थापन जस्ता अत्यावश्यक योजनाभन्दा मन्दिर केन्द्रित बजेट पठाइएको भन्दै उहाँले आलोचना गर्नुभयो।

    पाँचखालको महत्वाकांक्षी ‘स्मार्ट ग्रीन लेडी भ्याली’ तथा विशेष आर्थिक क्षेत्र (SEZ) सम्बन्धी योजना केन्द्र सरकारबाट अपेक्षित सहयोग नपाए पनि नगरपालिकाले वैकल्पिक रणनीतिमार्फत अघि बढाउने जानकारी दिनुभयो। मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन भएको विषयलाई भने उहाँले सकारात्मक कदमको रूपमा स्वागत गर्नुभयो।

    १ अर्ब २९ करोडको बजेट पारित

    नगर उपप्रमुख सूर्यमाया दनुवारले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो। कुल बजेट : १ अर्ब २९ करोड ११ लाख १५ हजार रुपैयाँ

    मुख्य बजेट बाँडफाँट:

    • प्रशासनिक खर्च – १६ करोड रुपैयाँ

    • पुँजीगत तथा कार्यक्रम खर्च – ७८ करोड ४७ लाख ९० हजार रुपैयाँ

    • सशर्त, समपूरक, विशेष तथा सडक बोर्ड कार्यक्रम – ३४ करोड ६३ लाख २५ हजार रुपैयाँ

    शीर्षकगत खर्च

    • प्रशासनिक चालु खर्च – १६ करोड

    • अघिल्लो वर्षको टेन्डर दायित्व – १३ करोड

    • उपभोक्ता समिति दायित्व – १ करोड

    • विपद् व्यवस्थापन कोष – ५० लाख

    • नगरस्तरीय आकस्मिक पूर्वाधार योजना – १ करोड ५० लाख

    • संघीय समपूरक योजना – ७० लाख

    • प्रदेश समपूरक योजना – ४ करोड २० लाख

    • अन्य म्याचिङ कोष – ५० लाख

    • आकस्मिक मर्मत सम्भार – ५० लाख

    • नगरस्तरीय योजना तथा कार्यक्रम – ४४ करोड ५७ लाख ५० हजार

    • वडास्तरीय योजना तथा कार्यक्रम – ५ करोड २० लाख

    उपप्रमुख दनुवारले यस वर्षको बजेट विगतको तुलनामा अझ बढी जनमुखी, विकासमुखी र समावेशी रहेको बताउनुभयो।

    नगरसभाले बजेटसँगै विनियोजन विधेयक–२०८३, आर्थिक विधेयक–२०८३, नगर प्रहरी (पहिलो संशोधन) विधेयक–२०८३ तथा खानेपानी तथा सरसफाइ बोर्ड विधेयक–२०८३ समेत पारित गरेको छ।

    पाँचखाल नगरपालिकाको यसपटकको बजेट र नीति–कार्यक्रमले सामाजिक न्याय, दलित समुदायको आर्थिक सुरक्षा, गरिबमुखी शासन, वातावरणीय संरक्षण तथा पूर्वाधार विकासलाई समान प्राथमिकतामा राखेको देखिएको छ। विशेषगरी दलित नवजात शिशुको खातामा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय स्थानीय सरकारमार्फत सामाजिक सुरक्षाको क्षेत्रमा नेपालकै उदाहरणीय अभ्यास बन्न सक्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार