२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

८ अर्ब सहकारी ठगीका मुख्य अभियुक्त सीबी लामा पुनः पक्राउ


३८७५ पाठक संख्या
  • २०८३ श्रावण ५, मंगलबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौं, ५ साउन । सहकारी ठगी प्रकरणका मुख्य अभियुक्तमध्ये एक चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन्। गत वर्ष डिल्लीबजार कारागारबाट फरार भएका उनलाई प्रहरीले पुनः नियन्त्रणमा लिएर कारागार पठाउने प्रक्रिया अघि बढाएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधव काफ्लेका अनुसार लामालाई पक्राउ गरिएको हो। उनी सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए।

    सीबी लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष हुन्। उनीमाथि कान्तिपुर र पशुपति सेभिङ एन्ड क्रेडिट सहकारीमार्फत करिब ८ अर्ब रुपैयाँ बचतकर्ताको रकम अपचलन गरेको आरोप छ।

    यसअघि २० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी चितवनको भरतपुर क्षेत्रमा लुकेर बस्दै आएका थिए। प्रहरीका अनुसार उनले लोकेसन पत्ता लाग्न नदिन बारम्बार फ्ल्याट परिवर्तन गर्ने गरेका थिए। पक्राउका क्रममा उनीबाट चार थान मोबाइल फोन र छ वटा सिमकार्ड बरामद गरिएको थियो।

    अनुसन्धानका क्रममा लामाले सहकारीको रकम व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी, रिसोर्ट, अस्पताल र शैक्षिक संस्थामा लगानी गरेको आरोप छ। सहकारी विभागमा बुझाइएको विवरणअनुसार कान्तिपुर सहकारीसँग करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड रुपैयाँ बचत रहेको छ भने संस्थाले ६ अर्ब २२ करोड रुपैयाँ ऋण लगानी गरेको देखिन्छ। उक्त ऋणको ठूलो हिस्सा तत्कालीन पदाधिकारी र सञ्चालकहरूले आफू निकट व्यवसाय तथा परियोजनामा प्रयोग गरेको आरोप छ।

    प्रहरीका अनुसार लामा २४ वर्षसम्म कान्तिपुर सहकारीको अध्यक्ष रहे। त्यस अवधिमा सञ्चालकहरूसँग मिलेर बचतकर्ताको रकम घरजग्गा, क्रसर उद्योग, अस्पताल, कलेजलगायत विभिन्न व्यवसायमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ। काभ्रे, काठमाडौं, भक्तपुर, मकवानपुर, मोरङ र खोटाङलगायत जिल्लामा ४ सय रोपनीभन्दा बढी जग्गा खरिद गरिएको विवरण पनि भेटिएको छ।

    चार बैंकिङ कसुरका मुद्दा पनि

    सहकारी ठगीबाहेक लामाविरुद्ध चार वटा बैंकिङ कसुरका मुद्दा समेत रहेको प्रहरीले जनाएको छ। काठमाडौंमा दर्ता भएका तीमध्ये तीन मुद्दामा उनी फरार रहेको प्रहरीको ‘क्रिमिनल रेकर्ड सिस्टम’ (सीआरएस) मा उल्लेख छ।

    पत्रकारदेखि सहकारी सञ्चालकसम्म

    अनुसन्धानबाट लामा सुरुआतमा सञ्चारकर्मी रहेको खुलेको छ। उनले २०४९ देखि २०५२ सालसम्म विज्ञापन तथा सञ्चार क्षेत्रमा काम गरेका थिए। त्यसपछि स्थानीय विकास मन्त्रालयअन्तर्गत प्राविधिक सहायक (ओभरसियर) का रूपमा केही समय कार्यरत रहेर २०५५ सालदेखि सहकारी क्षेत्रमा प्रवेश गरेका थिए।

    उनी नेपाली कांग्रेस काभ्रेका पूर्वकोषाध्यक्ष समेत हुन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बने पनि पराजित भएका थिए।

    डेढ अर्बभन्दा बढीको उजुरी

    हालसम्म कान्तिपुर सहकारीका ८५२ बचतकर्ताले १ अर्ब ५१ करोड ८५ लाख रुपैयाँ अपचलन भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। पशुपति सहकारीका बचतकर्ताबाट थप करिब १२ करोड रुपैयाँ अपचलन भएको उजुरी परेको छ। यी उजुरीहरूको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ।

    ‘८ अर्ब ठगी पुष्टि गर्नुस्’

    प्रहरीले सार्वजनिक गरेपछि लामाले आफूले ८ अर्ब रुपैयाँ ठगी गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। उनले पत्रकार सम्मेलनमा आफूले उक्त रकम कसरी अपचलन गरेको हो भन्ने तथ्य प्रमाणित गर्न प्रहरी र सम्बन्धित निकायलाई चुनौती दिँदै अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेका छन्।

    प्रहरीले भने उनीमाथि सहकारी ठगी, बैंकिङ कसुर तथा बचतकर्ताको रकम दुरुपयोगसम्बन्धी आरोपमा थप अनुसन्धान जारी रहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार