२०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

देशभर ओपीडी सेवा बन्द, चिकित्सक आन्दोलनले अस्पतालमा बिरामीको बिचल्ली


८०७ पाठक संख्या
  • २०८३ श्रावण १२, मंगलबार मा प्रकाशित ५ घण्टा अघि
  • १२ साउन, काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिटको विरोधमा देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि सोमबार अधिकांश अस्पतालको नियमित बहिरंग (ओपीडी) सेवा ठप्प भएको छ। आकस्मिकबाहेकका सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका हजारौं बिरामी र उनीहरूका आफन्त ठूलो सास्ती खेप्न बाध्य भएका छन्।

    नेपाल चिकित्सक संघको आह्वानमा सुरु गरिएको आन्दोलनका कारण वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सिभिल अस्पताललगायतका प्रमुख सरकारी अस्पतालमा नियमित ओपीडी सेवा सञ्चालन हुन सकेन। बिहानैदेखि उपचारका लागि अस्पताल पुगेका बिरामीले टिकटसमेत नपाई निराश हुँदै घर फर्किनुपरेको दृश्य अधिकांश अस्पतालमा देखियो।

    स्वास्थ्य सेवा जस्तो संवेदनशील र अत्यावश्यक क्षेत्रमा सेवा अवरुद्ध हुँदा दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका तथा टाढाबाट उपचारका लागि आएका बिरामी सबैभन्दा बढी प्रभावित बनेका छन्। कतिपय बिरामीले दिनभर अस्पताल धाउँदा पनि चिकित्सकको सेवा नपाएको गुनासो गरेका छन्।

    वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनको सूचना ढिलो प्राप्त भएकाले करिब २०० जनाको ओपीडी टिकट काटिसकिएको थियो। “टिकट लिइसकेका बिरामीलाई सेवा दिएपछि मात्र ओपीडी बन्द गरिएको हो,” उनले बताए। उनका अनुसार चिकित्सकहरूले आन्दोलनमा सहभागी हुँदै नयाँ टिकट नकटाउने र नियमित बिरामी नहेर्ने निर्णय गरेपछि सेवा पूर्ण रूपमा स्थगित गरिएको हो।

    यता कान्ति बाल अस्पतालले भने केही लचकता अपनाएको छ। अस्पतालका निर्देशक डा. पंकज रायका अनुसार अस्पताल पुगेका कुनै पनि बिरामीलाई फर्काइएको छैन। ओपीडी बन्द भए पनि आकस्मिक कक्षको टिकटमार्फत आवश्यक उपचार सेवा उपलब्ध गराइएको उनले जानकारी दिए।

    यसबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा अवरुद्ध नगर्न सबै अस्पताल र चिकित्सकलाई आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा चिकित्सकमाथिको आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै बिरामीको उपचार सेवा नियमित रूपमा सञ्चालन गर्न अनुरोध गरिएको छ।

    तर मन्त्रालयको आग्रह कार्यान्वयन हुन सकेन। देशभरका अधिकांश अस्पतालमा नियमित ओपीडी सेवा बन्द नै रहेपछि सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। चिकित्सकमाथिको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै आन्दोलनरत चिकित्सकहरूले दोषीमाथि कडा कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता नभएसम्म आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने संकेत दिएका छन्।

    चिकित्सकहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व भए पनि उपचार सेवाबाट सर्वसाधारण वञ्चित हुनु अर्को गम्भीर मानवीय र सार्वजनिक स्वास्थ्यको चुनौती बनेको छ। सम्बन्धित पक्षबीच शीघ्र संवाद र समाधानमार्फत स्वास्थ्य सेवा पुनः सहज बनाउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार