२०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

बोन म्यारो क्यान्सरबाट पीडित श्रीमतीसहित सुनकोशीमा हाम फाले दम्पती, खोजी अभियान जारी


६१३७ पाठक संख्या
  • २०८३ श्रावण २०, बुधबार मा प्रकाशित ६ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, साउन २०। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित प्रसिद्ध धार्मिकस्थल दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा एक वृद्ध दम्पतीले हाम फालेपछि उनीहरू बेपत्ता भएका छन्। घटनापछि नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकायले खोजी अभियान तीव्र बनाएका छन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बुधबार साँझ करिब ६ः३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हाम फालेको प्रारम्भिक सूचना प्राप्त भएको हो।

    प्रहरीका अनुसार तिलकुमारी पराजुली लामो समयदेखि बोन म्यारो क्यान्सरबाट पीडित थिइन्। उनी अपाङ्ग अवस्थामा रहेकी थिइन्। स्वास्थ्य अवस्थाका कारण दम्पतीले लामो समयदेखि कठिन जीवन बिताइरहेको हुन सक्ने अनुमान गरिए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले कुनै निष्कर्षमा नपुगी अनुसन्धानलाई प्राथमिकता दिएको जनाएको छ।

    घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यसुहरि अधिकारीको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा नदी किनार तथा सम्भावित क्षेत्रमा खोजी कार्य सञ्चालन गरिरहेको छ।

    सुनकोशी नदीको तीव्र बहावका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीको भनाइ छ। आवश्यकताअनुसार अन्य सुरक्षा निकायसँग समेत समन्वय गरी खोजी अभियानलाई थप प्रभावकारी बनाइने जनाइएको छ।

    घटनापछि स्थानीय बासिन्दा स्तब्ध बनेका छन्। दुलालेश्वर महादेव मन्दिर आसपास दैनिक रूपमा धार्मिक गतिविधि हुने क्षेत्रमा भएको यस घटनाले सर्वसाधारणलाई समेत भावुक बनाएको छ।

    प्रहरीले दम्पती नदीमा हाम फाल्नुको कारणबारे परिवारका सदस्य, आफन्त तथा स्थानीयसँग सोधपुछ गरिरहेको जनाएको छ। बेपत्ता दम्पतीको अवस्था अझै अज्ञात रहेकाले खोजी अभियानलाई निरन्तरता दिइएको छ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटनाबारे थप तथ्य खुल्ने क्रम जारी रहेको र आधिकारिक विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार