२०८३ श्रावण ३०, शनिबार | Sat, 15, Aug, 2026

७.७ म्याग्निच्युडको भूकम्पले हल्लियो फ्लोरेस, सुनामी चेतावनी जारी


८५९ पाठक संख्या
  • २०८३ श्रावण ३०, शनिबार मा प्रकाशित ५ घण्टा अघि
  • काठमाडौं, साउन ३० । इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको सम्भावना देखाउँदै चेतावनी जारी गरिएपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।

    इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी)का अनुसार स्थानीय समयअनुसार बिहान ४ः५८ बजे भूकम्प गएको हो। करिब १५ किलोमिटर गहिराइमा गएको भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गारा प्रान्तको नागेकेओबाट करिब ३० किलोमिटर उत्तरपूर्वतर्फ समुद्रमा रहेको थियो।

    भूकम्पको धक्का फ्लोरेस टापु तथा आसपासका क्षेत्रमा व्यापक रूपमा महसुस गरिएको थियो। इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्य बालीभन्दा पूर्वतर्फ पर्ने यो क्षेत्र भूकम्पीय गतिविधिका दृष्टिले संवेदनशील मानिन्छ।

    बीएमकेजीले भूकम्पलगत्तै पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो। प्रारम्भिक अनुमानअनुसार सम्भावित सुनामीका छाल ०.५ मिटरदेखि ३ मिटरसम्म उचाइका हुन सक्ने बताइएको थियो।

    चेतावनी जारी भएपछि नागेकेओलगायत आसपासका क्षेत्रका सयौँ बासिन्दा सुरक्षित स्थानतर्फ भागेका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण केही भवन तथा घरमा क्षति पुगेको छ भने विभिन्न स्थानमा परकम्पसमेत महसुस गरिएको थियो।

    पछिल्लो विवरणअनुसार भूकम्पमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन्। भौतिक संरचनामा समेत क्षति पुगेको जनाइएको छ।

    यद्यपि, समुद्रको सतहमा अपेक्षित ठूलो परिवर्तन नदेखिएपछि प्रारम्भमा जारी गरिएको सुनामी चेतावनी पछि हटाइएको छ। त्यसपछि पनि स्थानीय प्रशासनले सम्भावित परकम्प र जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

    फ्लोरेस क्षेत्र यसअघि पनि शक्तिशाली भूकम्प र सुनामीको चपेटामा परिसकेको क्षेत्र हो। सन् १९९२ मा यही क्षेत्रमा ७.७ म्याग्निच्युडको भूकम्प गएपछि आएको विनाशकारी सुनामीमा ठूलो जनधनको क्षति भएको थियो। त्यसकारण पछिल्लो भूकम्पपछि स्थानीय बासिन्दामा थप त्रास फैलिएको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु