काभ्रेपलाञ्चोक ।पाँचखालको कृषि उत्पादनलाई सुरक्षित, गुणस्तरीय र उपभोक्तामैत्री बनाउने अभियानले पछिल्लो समय गति लिन थालेको छ। रासायनिक विषादीको प्रयोग घटाउँदै एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) प्रविधिबाट तरकारी उत्पादनलाई प्रवद्र्धन गर्दै आएको लव ग्रीन नेपालले पाँचखालको तरकारीलाई ‘सेमी अर्गानिक’ उत्पादनका रूपमा विकास गर्ने प्रयासलाई निरन्तरता दिएको छ।
पाँचखाल नगरपालिकाको सहकार्यमा सञ्चालित ‘ताजा आईपीएम तरकारी उत्पादन तथा बजार प्रवद्र्धन परियोजना’ अन्तर्गत २०८३ साल साउन २९ र ३० गते काठमाडौंको पेप्सीकोलामा उपभोक्ता अभिमुखीकरण तथा बजार प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ५६८ जना उपभोक्तालाई आईपीएम प्रविधिबाट उत्पादित तरकारीका विशेषता, उत्पादन प्रक्रिया तथा यसको स्वास्थ्य र वातावरणीय महत्वबारे जानकारी गराइएको थियो।
कार्यक्रममा उपभोक्ताले आईपीएम प्रविधिबाट उत्पादित तरकारीप्रति उत्साहजनक चासो देखाएका थिए। सहभागी उपभोक्ताले सुरक्षित र गुणस्तरीय तरकारीको नियमित उपलब्धतामा रुचि देखाउँदै आईपीएम तरकारीको मागसमेत गरेका थिए। यसले पाँचखालका किसानले उत्पादन गर्ने सुरक्षित तरकारीका लागि काठमाडौंमा बजारको सम्भावना बढ्दै गएको संकेत गरेको छ।
पाँचखालको कृषि क्षेत्रमा मात्र नभई हरियाली विस्तार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालनलगायतका क्षेत्रमा विगत ३३ वर्षदेखि काम गर्दै आएको लव ग्रीन नेपालले पछिल्लो ७ वर्षदेखि पाँचखालमा आईपीएम प्रविधिबाट तरकारी खेती प्रवद्र्धन गर्दै आएको छ।
संस्थाले किसानलाई आईपीएम प्रविधिबारे जानकारी दिने, उत्पादन प्रणालीमा सुधार ल्याउने तथा सुरक्षित तरकारी उत्पादनतर्फ आकर्षित गर्ने काम गर्दै आएको छ। किसानको उत्पादनलाई उपभोक्तासम्म पुर्याउने क्रममा बजार प्रवद्र्धनलाई समेत प्राथमिकता दिइएको छ।
लव ग्रीन नेपालको निरन्तर प्रयासकै परिणामस्वरूप पाँचखालमा आईपीएम प्रविधिबाट उत्पादित तरकारीलाई उपभोक्तामाझ परिचित गराउन र यसको बजार विस्तार गर्न सहज भएको बताइएको छ। संस्थाले किसान, उपभोक्ता र बजारबीचको सम्बन्धलाई बलियो बनाउँदै सुरक्षित उत्पादनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यलाई अघि सारेको छ।
पाँचखालमा उत्पादित आईपीएम तरकारी विगत पाँच वर्षदेखि काठमाडौंका विभिन्न क्षेत्रमा बिक्री–वितरण हुँदै आएको छ। काठमाडौंका उपभोक्तामाझ आईपीएम तरकारीको माग र विश्वास बढ्दै गएपछि उत्पादनलाई थप व्यवस्थित गर्ने तथा बजार विस्तार गर्ने प्रयास भइरहेको छ।
आईपीएम प्रविधिमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगलाई न्यूनीकरण गर्दै जैविक तथा वातावरणमैत्री उपायबाट बालीमा लाग्ने रोग तथा कीरा व्यवस्थापन गरिन्छ। यसले उत्पादनको गुणस्तर कायम राख्नुका साथै वातावरण संरक्षण र उपभोक्ताको स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
पाँचखालको कृषि उत्पादनलाई काठमाडौंको बजारसँग जोड्ने अभियानले किसानलाई आफ्नो उत्पादनको उचित बजार खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। पेप्सीकोलामा गरिएको पछिल्लो उपभोक्ता अभिमुखीकरणमा देखिएको सकारात्मक प्रतिक्रिया पाँचखालको आईपीएम तरकारीका लागि बजार विस्तारको महत्वपूर्ण आधार बनेको छ।
३३ वर्षको सामाजिक सेवाको अनुभव, ७ वर्षको आईपीएम अभियान र पाँच वर्षदेखि काठमाडौंमा बजार विस्तारको निरन्तर प्रयासमार्फत लव ग्रीन नेपालले पाँचखालको तरकारीलाई सुरक्षित, गुणस्तरीय र उपभोक्ताको रोजाइको उत्पादन बनाउने अभियानलाई अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस