११ भदौ, चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीले बगाएर ल्याएका ६४ जनाको शव तथा मानव शरीरका विभिन्न अङ्ग त्रिशूली र नारायणी नदीमा फेला परेका छन्। नदीमा आएको बाढी र तीव्र बहावसँगै बगेर आएका शव तथा अङ्गहरू चितवनका विभिन्न स्थानमा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म फेला परेका शवमध्ये केही सग्ला छन् भने केही मानव शरीरका विभिन्न अङ्ग मात्र रहेका छन्। फेला परेका शवलाई पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्न भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।
तर, शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालको शवगृहमा व्यवस्थापन गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ। तनहुँमा फेला परेका नौ शवसमेत चितवन पठाइए पनि यहाँ शव राख्ने पर्याप्त ठाउँ नभएपछि ती शव पुनः तनहुँ नै फिर्ता पठाइएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए।
बाढीका कारण नदीमा बगेर आएका व्यक्तिको खोजी तथा शव पहिचानका लागि चितवनमा रहेका तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदी किनार तथा सम्भावित क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिएका छन्।
प्रहरीका अनुसार नदीमा बाढीको बहावसँगै थप शव तथा मानव अङ्ग फेला पर्न सक्ने भएकाले नदी किनारका सम्भावित स्थानमा निगरानी र खोजीलाई निरन्तरता दिइएको छ। उद्धार तथा खोजीका क्रममा फेला पर्ने शवको पहिचान, अभिलेखीकरण र आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कामसमेत भइरहेको छ।
भरतपुर अस्पतालको शवगृहमा थप शव राख्न नसक्ने अवस्था आएपछि फेला पर्ने शवलाई अस्थायी रूपमा व्यवस्थापन गर्न औद्योगिक प्रतिष्ठानका कार्यालय तथा अन्य उपयुक्त स्थान प्रयोग गर्ने तयारी भइरहेको प्रहरी प्रमुख पौडेलले बताए।
बाढीपछि त्रिशूली र नारायणी नदीमा ठूलो संख्यामा शव फेला पर्न थालेसँगै शवको सुरक्षित व्यवस्थापन, पहिचान तथा आफन्तसम्म सूचना पु¥याउने कार्यसमेत चुनौतीपूर्ण बनेको छ। सुरक्षा निकायले नदी किनारमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गर्दै खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस