२०८३ भाद्र ११, बिहिबार | Thu, 27, Aug, 2026

“खाली वनमा हरियाली, स्थानीयको हातमा आम्दानी”


१५८७ पाठक संख्या
  • २०८३ भाद्र ११, बिहिबार मा प्रकाशित २ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१३ स्थित लामीडाँडा सामुदायिक वनलाई आयआर्जनको स्रोतका रूपमा विकास गर्ने उद्देश्यले वृक्षरोपण तथा हरियाली विस्तार अभियानलाई निरन्तरता दिइएको छ। पाँचखाल नगरपालिकाभित्र रहेका ५४ सामुदायिक वनमध्ये नमुना कार्य गर्दै आएको लामीडाँडा सामुदायिक वनमा यस वर्ष पनि ठूलो संख्यामा फलफूल तथा जडीबुटीजन्य बिरुवा रोप्न थालिएको हो।

    नगरपालिकाले सामुदायिक वनको खाली भू–भागलाई उत्पादनशील बनाउँदै स्थानीय समुदायको आयआर्जनसँग जोड्ने नीतिअनुसार यस वर्ष १८ हजार बिरुवा उपलब्ध गराएको छ। बिरुवा रोपणका लागि खाडल खन्ने मेसिन तथा सिँचाइका लागि १२ वटा पोखरीको समेत व्यवस्था गरिएको पाँचखाल नगरपालिका कृषि विकास शाखाका प्रमुख हेमन्त पौडेलले जानकारी दिए।

    विरुवा हस्तान्तरण कार्यक्रम पाँचखाल नगरपालिका–१३ का वडा अध्यक्ष तथा वन तथा वातावरण व्यवस्थापन समितिका संयोजक सुकवीर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कृषि विकास शाखा प्रमुख पौडेल, कृषि स्नातक प्राविधिक सुगम भेटवाल, लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयबहादुर तामाङ तथा टिजिआई नेपालका प्रतिनिधिले सामुदायिक वनलाई हराभरा बनाउँदै स्थानीय आयआर्जन बढाउने विषयमा धारणा राखेका थिए।

    कार्यक्रमपछि वडा अध्यक्ष तामाङ, वन उपभोक्ता समितिका अध्यक्ष जयबहादुर तामाङ, वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्य, पाँचखाल नगरपालिका कृषि विकास शाखा प्रमुख पौडेल, वन तथा वातावरण शाखा प्रमुख गणेश खरेल, सूचना प्रविधि (आईटी) शाखा प्रमुख मिलन मिश्रलगायत स्थानीयको सहभागितामा वृक्षरोपण गरिएको थियो।

    २६० हेक्टर क्षेत्रफलमा फैलिएको लामीडाँडा सामुदायिक वनको करिब ६० हेक्टर भू–भाग खाली रहेको छ। उक्त खाली क्षेत्रलाई चरणबद्ध रूपमा फलफूल तथा जडीबुटीजन्य बिरुवा रोपेर हरियाली विस्तारसँगै उत्पादन र आयआर्जनको केन्द्र बनाउने लक्ष्य नगरपालिकाले अघि सारेको छ।

    पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरभित्रका सामुदायिक वनलाई केवल संरक्षणको क्षेत्रका रूपमा मात्र नभई स्थानीयको आम्दानी बढाउने माध्यमका रूपमा विकास गर्ने नीति लिएका छन्। सोही लक्ष्यअनुसार सामुदायिक वनमा जडीबुटी तथा फलफूलका बिरुवा रोपेर दीर्घकालीन रूपमा नगर र स्थानीय समुदायका लागि आम्दानीको स्रोत निर्माण गर्ने अभियानमा टिजिआई नेपालले गत वर्षदेखि नगरपालिकासँग समन्वय गर्दै आएको छ।

    टिजिआई नेपालको पहलमा पहिलो चरणमा सामुदायिक वनभित्रका खाली जमिनलाई हरियालीमा परिणत गर्ने काम लामीडाँडा वनबाट सुरु गरिएको हो। गत वर्ष नगरपालिकाले १० हजार बिरुवा उपलब्ध गराएपछि वृक्षरोपण अभियान सुरु गरिएको थियो। यस वर्ष भने बिरुवाको संख्या बढाएर १८ हजार पुर्‍याइएको हो।

    आयआर्जनमुखी हरियाली विस्तार कार्यक्रमलाई दीर्घकालीन बनाउन टिजिआई नेपालले बिरुवा रोपिएपछि नियमित निगरानी तथा संरक्षणको व्यवस्था गरेको छ। संस्थाले प्रारम्भिक ७ वर्ष नियमित निगरानी गर्ने र त्यसपछिका २३ वर्षसमेत अनुगमनलाई निरन्तरता दिने योजना बनाएको जनाएको छ।

    वन क्षेत्रमा माटो तथा स्थानीय हावापानीअनुकूल फलफूल र जडीबुटीजन्य बिरुवाको नर्सरीसमेत स्थापना गरिएको छ। हाल उक्त नर्सरीमा ६५ हजार बिरुवा उत्पादन भइसकेका छन्। उत्पादित बिरुवामध्ये स्थानीय बासिन्दालाई समेत वडा कार्यालयको सिफारिसका आधारमा फलफूलका बिरुवा वितरण गरिँदै आएको छ।

    यस कार्यक्रमले वन संरक्षणसँगै स्थानीय कृषकलाई प्रत्यक्ष आर्थिक लाभ पुर्‍याउने लक्ष्यसमेत लिएको छ। फलफूलका बिरुवा रोप्ने कृषकलाई प्रोत्साहनस्वरूप प्रति बिरुवा वार्षिक ३० रुपैयाँ नगद प्रोत्साहन उपलब्ध गराउने व्यवस्था गरिएको छ।

    सामुदायिक वनका खाली क्षेत्रलाई फलफूल, जडीबुटी तथा अन्य उपयोगी प्रजातिका बिरुवाले भरिँदै लैजाने योजनाले एकातर्फ वनको वातावरणीय संरक्षण र हरियाली विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ भने अर्कोतर्फ भविष्यमा वन उपभोक्ता तथा स्थानीय कृषकको आयआर्जन बढाउने आधार तयार गर्ने विश्वास गरिएको छ।

    पाँचखालमा सामुदायिक वनलाई संरक्षणसँगै उत्पादन र रोजगारीसँग जोड्ने अभियान प्रभावकारी रूपमा अघि बढेमा खाली वन क्षेत्रको सदुपयोग, जैविक विविधताको संरक्षण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु