काभ्रेपलाञ्चोक । भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमानसँगै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाएको छ। नगरप्रमुख महेश खरेलले नगरवासीलाई सचेत रहन आग्रह गर्दै विपद् व्यवस्थापनका सबै संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ।
नगरप्रमुख खरेलको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले सम्भावित बाढी, पहिरो, डुबान, भूक्षय तथा सडक अवरोधलाई मध्यनजर गर्दै तत्काल आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो। बैठकमा नगर उपप्रमुख सूर्य माया दनुवार, शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा सञ्चारकर्मीको सहभागिता रहनुभएको थियो
बैठकमा नगरप्रमुख खरेलले सबै वडामा आवश्यक विपद् व्यवस्थापन सामग्री तत्काल तयारी अवस्थामा राख्न निर्देशन दिए। सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन पनि उनले आग्रह गर्नुभयो।
विपद्का बेला एम्बुलेन्स सेवा आवश्यक परे त्यसको सञ्चालन शुल्क नगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइने उनले बताए। साथै, विपद् व्यवस्थापनका सामग्रीको सही ठाउँमा मात्र प्रयोग गर्न र दुरुपयोग हुन नदिनसमेत उनले निर्देशन गर्नुभयो।
सडक तथा पूर्वाधार जोगाउन प्राविधिक शाखालाई विशेष जिम्मेवारी दिँदै नगरप्रमुख खरेलले जोखिम देखिएका सडक तथा स्थानमा तत्काल संरक्षणका उपाय अपनाउन आग्रह गर्नुभयो। प्रारम्भिक चरणमै सामान्य खर्चबाट जोगाउन सकिने संरचना पछि ठूलो क्षति हुँदा लाखौँ रुपैयाँ खर्च हुने भएकाले सम्भावित जोखिम भएका स्थानको समयमै पहिचान र निगरानी आवश्यक रहेको उहाँको तर्क थियो । नको भनाइ थियो।क्षतिलाई समयमै रोक्न सकिए ठूलो क्षति र खर्चबाट बच्न सकिन्छ,” भन्दै उहाँले जोखिमयुक्त सडक तथा भूभागको नियमित अनुगमन गर्न निर्देशन दिनुभयो
यसैबीच, नगरपालिकाले सम्भावित जोखिमबारे नगरवासीलाई सचेत गराउन माइकिङसमेत सुरु गरेको छ। नदी तथा खोला किनार, पहिरोको जोखिम भएका बस्ती र कमजोर भौगोलिक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सोही अवस्थालाई ध्यानमा राख्दै पाँचखाल नगरपालिकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि मौसम र सडकको अवस्था बुझ्न नगरवासीलाई आग्रह गरेको छ।
नगरपालिकाले ‘सतर्कता नै विपद्बाट जोगिने पहिलो उपाय’ भन्ने सन्देशसहित नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै सम्भावित विपद्का बेला स्थानीय सरकार, सुरक्षा निकाय र नागरिकबीच प्रभावकारी समन्वयमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस