रौतहट । टिकटकमार्फत फर्निचर बिक्री गर्ने बहानामा अनलाइन ठगी गरेको आरोपमा रौतहट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। थप दुई जना पक्राउ परेसँगै घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकाका रामप्रवेश साह बनिया र सुबोध माली भगत रहेका छन्। यसअघि प्रहरीले सोही ठाउँका २० वर्षीय सुरजप्रसाद यादव र २२ वर्षीय भोलिन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार सुरजप्रसाद र भोलिन्द्रकुमारलाई गत भदौ १६ गते बिर्ती प्रस्टोकाबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको थियो। उनीहरूविरुद्ध भदौ १७ गते अनलाइन ठगीसम्बन्धी मुद्दा दायर गरिएको थियो।
पक्राउ परेकाहरूको बयान तथा अनुसन्धानबाट प्राप्त सूचनाका आधारमा थप दुई जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए।
प्रहरीका अनुसार गत भदौको दोस्रो साता सिरहाको नवराजपुर गाउँपालिका–३ का ४५ वर्षीय वैद्यनाथकुमार यादवलाई टिकटकमार्फत फर्निचर बिक्री गर्ने भन्दै सम्पर्क गरिएको थियो।
फर्निचर खरिदका विषयमा कुराकानी गर्ने क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाएर मोबाइल बैंकिङको पासवर्ड प्राप्त गरिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यसपछि पीडितको बैंक खाताबाट ४७ हजार १९८ रुपैयाँ निकालिएको आरोप छ।
बैंक खाताबाट रकम निकालिएपछि पीडितले बैंकिङ विवरणका आधारमा आरोपीको पहिचान गरी गत भदौ १६ गते इलाका प्रहरी कार्यालय कटहरियामा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै सुरजप्रसाद यादव र भोलिन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो।
उनीहरूको बयान तथा अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा रामप्रवेश साह बनिया र सुबोध माली भगतसमेत पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले अनलाइनमार्फत विभिन्न किसिमका ठगी गर्नुका साथै नक्कली नागरिकता र राहदानी बनाएर त्यसैका आधारमा बैंक खाता खोल्ने र ती खातालाई ठगीमा प्रयोग गर्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ।
डीएसपी आचार्यका अनुसार उनीहरूमाथि अनलाइन ठगीसँगै संगठित अपराधसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न समूहमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएपछि अनुसन्धानलाई थप फराकिलो बनाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जना हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै डिजिटल कारोबार, बैंक खाताको प्रयोग र रकम स्थानान्तरणसँग सम्बन्धित थप विवरणसमेत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस