१४ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी अन्त्य गर्दै आन्तरिक एकतालाई थप मजबुत बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
बुधबार पार्टीका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले आपसी असमझदारी र मतभेदलाई प्राथमिकता नदिई साझा संकल्पका साथ अघि बढ्नुपर्ने बताएका हुन्।
‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ,’ ओलीले भने, ‘सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भई अघि बढ्नुपर्छ।’
उनले पार्टीभित्र कुनै समस्या नरहेको दाबी मात्र गर्नुभन्दा संगठनलाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीका सबै तहबीच समन्वय र सहकार्य बढाउनुपर्ने उनको भनाइ थियो।
विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका दृष्टिले एकढिक्का रहेको ओलीले दाबी गरे। उनले अहिलेको प्राथमिकता लोकतान्त्रिक अधिकारको रक्षा गर्दै आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताए।
‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ। सत्य हाम्रै पक्षमा छ,’ ओलीले भने, ‘त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ।’ उनले नेता–कार्यकर्तालाई विगतका असमझदारीबाट माथि उठेर पार्टी संगठनलाई थप सुदृढ बनाउन सक्रिय हुनसमेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस