काठमाडौँ/काभ्रे । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय निर्वाचन प्रक्रिया विवादमा तानिएको छ।
निर्धारित निर्वाचन कार्यतालिका र प्रक्रिया पूरा नगरी एकाएक निर्वाचन सम्पन्न भएको सूचना सार्वजनिक गरिएको भन्दै महाधिवेशन प्रतिनिधिका आकांक्षी उम्मेदवारहरूले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन दर्ता गराएका छन्।
सानेपा, ललितपुरस्थित केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गरी दर्ता गरिएको निवेदनमा जिल्लास्थित निर्वाचन समितिले उम्मेदवारहरूसँग आवश्यक समन्वय नगरी तथा तोकिएको प्रक्रिया पूरा नगरी निर्वाचन सम्पन्न भएको सूचना सम्प्रेषण गरेको आरोप लगाइएको छ।
निवेदनमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी सूचनाअनुसार काभ्रे क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय समितिको निर्वाचनका लागि नामावली प्रकाशन, उम्मेदवारी दर्तालगायतका प्रारम्भिक प्रक्रिया पूरा भइसकेको उल्लेख छ। तर, अन्तिम नामावली प्रकाशन गरी सहमति वा निर्वाचन प्रक्रियामार्फत टुंगो लगाउनुपर्ने अवस्थामा असोज १२ गते साँझ ६ बजे एकाएक सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भएको सूचना विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक गरिएको दाबी गरिएको छ।
आकांक्षी उम्मेदवारहरूले उक्त कार्य विधान, निर्वाचन सञ्चालन ऐन तथा प्रचलित कानुनी व्यवस्थाविपरीत भएको दाबी गर्दै त्यसलाई बदर गरी रोकिएको निर्वाचन प्रक्रिया पुनः अघि बढाउन माग गरेका छन्।
निवेदनमार्फत उम्मेदवारहरूले निर्वाचन प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न तथा सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्दै विधान र निर्वाचनसम्बन्धी प्रावधानअनुसार निर्वाचन सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिसँग आग्रह गरेका छन्।
विरोध जनाउनेमा प्रकाश थापा, जय कुमार लामा, निराजन लुइँटेल, महेश राज पौडेल , चन्द्र प्रसाद ढकाल, विष्णु थापा, कश्यप प्रसाद पौडेल, होम प्रसाद चौलागाईँ, विजय गौतम, विनोद तिमल्सिना, रितेन ढकाल (मुक्ति), मञ्जु कुमार श्रेष्ठ, सिताराम परियार, सहदेव तिमल्सिना, रोशन लामा, लाल बहादुर श्रेष्ठ, जीतमान तामाङ, रमेश खरेल, अनिता गजगाईँ, बल प्रसाद दाहाल, प्रेम बहादुर तिमल्सिना र उद्धव प्रसाद नेपाल ,बिष्णुमणी नेपाल , रघुनाथ घिमिरे , समिर व्याञ्जु श्रेष्ठ ,लगायतका आकांक्षी उम्मेदवार रहेका छन्।
निर्वाचन प्रक्रिया नै विवादित बनेपछि अब केन्द्रीय निर्वाचन समितिले यस विषयमा कस्तो निर्णय लिन्छ भन्ने चासो बढेको छ। उम्मेदवारहरूले भने विधान र निर्वाचनसम्बन्धी प्रक्रिया पालना गरी निष्पक्ष रूपमा पुनः निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस