१४ असोज, काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीका वडासचिव जंगे तामाङले बाढीमा परिवारका आठ सदस्य गुमाए । आमा, दाइ, मामा–माइजु र ससुरासहित आठ जना आफन्त गुमाएका तामाङको घरसँगै वडा कार्यालय पनि बाढीले बगायो ।
विस्थापित भएर काठमाडौंको स्वयम्भूस्थित एलो गुम्बाको होल्डिङ सेन्टरमा पुगेका तामाङ भने व्यक्तिगत पीडाबीच पनि वडावासीको सेवामा खटिएका छन् । त्यहीँबाट उनले वडा कार्यालयको काम सञ्चालन गरिरहेका छन् ।
‘मैले परिवारका ८ जना गुमाएँ, म भने बाँचेर आएँ,’ उनले भने, ‘वडाध्यक्ष पनि सम्पर्कविहीन हुनुहुन्छ । वडा कार्यालयदेखि प्रहरी चौकीसम्मका संरचना बगेका छन् ।’
तामाङले वडाको छाप, लेटरप्याड, सिफारिस पत्रसँगै ल्यापटप र प्रिन्टरसमेत होल्डिङ सेन्टरमा ल्याएका छन् । पालिकासँग समन्वय गर्दै उनले स्थानीयलाई आवश्यक सिफारिस, राहतसम्बन्धी कागजात तथा तथ्यांक संकलनको काम गरिरहेका छन् ।
गुम्बामा करिब ३५० विस्थापित बसेका छन् । बाढीबाट प्रभावित घरधुरी, मृतक तथा सम्पर्कविहीनको संख्या र भौतिक क्षतिको विवरण संकलन गरी पालिकामार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउने काम भइरहेको तामाङले बताए ।
बाढीबाट स्याफ्रुका तीन टोल प्रभावित हुँदा प्रारम्भिक विवरणअनुसार १३७ घरधुरी विस्थापित भएका छन् । कतिपय स्थानीय आफन्तको घरमा बसे पनि वडा सेवा लिन होल्डिङ सेन्टरमै आउने गरेका छन् ।
लामो समय अस्थायी शिविरमा बस्न नचाहेका स्थानीयले भने छिटो बाटो खुलाएर आफ्नै थातथलो फर्किने वातावरण बनाउन सरकारसँग माग गरिरहेका छन् । ‘आफ्नै ठाउँमा फर्किएर व्यापार–व्यवसाय गर्न चाहनुहुन्छ । त्यहाँको मुख्य व्यवसाय पर्यटन हो,’ तामाङले भने ।
सरकारले विस्थापित परिवारलाई कोठा भाडाबापत मासिक १५ हजार रुपैयाँ तथा चार जनाभन्दा बढी परिवार सदस्य भए थप प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले ६ महिनासम्म उपलब्ध गराउने जनाएको छ । विस्थापित बालबालिकाको पढाइसमेत नजिकैको विद्यालयमा सञ्चालन भइरहेको तामाङले जानकारी दिए ।
बाढीमा ज्यान गुमाएकाहरूको अन्त्येष्टिपछि अहिले घेवा चलिरहेको छ । ४९औँ दिनको घेवा सकिएपछि पनि अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने भन्दै स्थानीयले पुनर्वासको माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस