काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरमार्फत गरिएको उद्धारमा बढीमा २० करोड रुपैयाँ खर्च भएको जनाएको छ। उद्धारमा अर्बौँ रुपैयाँ खर्च भएको भन्ने विवरण सार्वजनिक भइरहेका बेला गृहमन्त्री सुधन गुरुङले वास्तविक खर्च २० करोड रुपैयाँभन्दा बढी नभएको स्पष्ट पारेका हुन्।
गृहमन्त्री गुरुङले उद्धारमा भएको खर्चको पारदर्शी हिसाब छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। “बाहिर सार्वजनिक भएजस्तो अर्बौँ खर्च भएको होइन। बढीमा २० करोड खर्च भएको छ। हामी नागरिकप्रति जवाफदेही हुनुपर्छ,” उनले भने।
उनका अनुसार विपद्पछि होल्डिङ सेन्टरमा राखिएका प्रभावित परिवारलाई लामो समयसम्म त्यहीँ राखिराख्ने अवस्था अन्त्य गर्दै अस्थायी आवासको प्रबन्धसहित ६ महिनाभित्र स्थायी आवासतर्फ लैजाने तयारी सरकारले गरिरहेको छ।
“उहाँहरूलाई सधैँ होल्डिङ सेन्टरमा राखेर हुँदैन। अब आवासका लागि गृहकार्य गरिरहेका छौँ। नयाँ ठाउँमा जग्गा खोजेर उहाँहरूका लागि आवास निर्माण गर्नेतर्फ सरकार अघि बढ्छ,” गृहमन्त्री गुरुङले भने।
सरकारले निर्माण गर्ने आवासमा स्थानीय संस्कृति र मौलिकता संरक्षणसँगै आधुनिक सुविधालाई समेत प्राथमिकता दिने उनको भनाइ छ। प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित पुनःस्थापनाका लागि उपयुक्त स्थान पहिचान तथा आवास निर्माणको काम अघि बढाइने सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस