काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि समानान्तर अधिवेशन प्रक्रिया सुरु गर्दैछ। सो समूहले आज देशभर वडा अधिवेशन गर्न लागेको हो।
कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया अघि बढाएको हो। देउवा पक्षले मङ्सिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
निर्धारित कार्यतालिकाअनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ। उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको नेता किरणराज पौडेलले बताए।
देउवा पक्षले ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकेको जनाएको छ भने आजको वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक खटाइएको छ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल महाधिवेशन गर्न नहुने अडान राख्दै आएको देउवा पक्षले संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि समानान्तर रूपमा आफ्नो अधिवेशन थालेको हो।
महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै पार्टी संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउनुपर्ने भन्दै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई उत्साहका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै कांग्रेसको आधिकारिक कार्यसमिति भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन।

प्रतिक्रिया दिनुहोस