२०८३ आश्विन १५, बिहिबार | Thu, 01, Oct, 2026

पनौतीमा रेबिजविरुद्ध निःशुल्क खोप, विद्यालयमा दूधको महत्वबारे सचेतना


१११९ पाठक संख्या
  • २०८३ आश्विन १५, बिहिबार मा प्रकाशित ४ घण्टा अघि
  • पनौती । रोटरी क्लब अफ पनौतीले विश्व रेबिज दिवसको अवसरमा पनौती–७ का कुकुर तथा बिरालोलाई रेबिजविरुद्धको निःशुल्क खोप र जुकाको औषधि वितरण गरेको छ।

    रेबिजलाई पशुमा मात्र सीमित समस्या नमान्ने र ‘एक स्वास्थ्य’ अवधारणालाई समुदायस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले सुरु गरेको अभियानलाई पनौती नगरपालिका वडा नं. ७, पशु सेवा प्राविधिक समूह पनौती तथा पशु सेवा कार्यालय धुलिखेलले सहकार्य गर्दै आएका छन्। खोप तथा औषधिमा कान्तिपुर भेट डिष्ट्रिब्युटर्स र क्यूमेड फर्मूलेसनले सहयोग गरेका छन्।

    क्लबका अध्यक्ष राजेश सुन्दर सैंजका अनुसार रोटरीले विश्व स्वास्थ्य संगठनको सन् २०३० सम्म कुकुरबाट मानिसमा सर्ने रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने ‘जिरो बाई ३०’ लक्ष्यलाई सेवा परियोजनाका रूपमा अघि बढाएको छ।

    यसैबीच क्लबले पनौती–४ स्थित बालोद्वार माध्यमिक विद्यालयमा विश्व स्कुल दूध दिवस पनि मनाएको छ। ‘बलियो हड्डी, बलियो शरीरः खेलकुद र विकासका लागि दूध अमूल्य आधार’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विद्यार्थीलाई दूध तथा दुग्धजन्य पदार्थको पोषण महत्वबारे जानकारी दिइएको थियो।

    पनौती–४ का वडाध्यक्ष दीपकप्रसाद दाहालले नगरलाई पोषणमैत्री बनाउने लक्ष्यमा दूधको सेवन महत्वपूर्ण रहेको बताए। पशुपंछी शाखा प्रमुख डा. दीपिका रेग्मीले दूध प्रोटिन, क्याल्सियम र भिटामिन बी–१२ लगायतका पोषक तत्त्वको महत्वपूर्ण स्रोत भएको बताइन्।

    रोटरी क्लब अफ पनौतीले पूर्वअध्यक्ष एवं पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटाको पहलमा सुरु भएको विद्यालय दूध दिवस कार्यक्रमलाई सात वर्षदेखि निरन्तरता दिँदै आएको जनाएको छ। आयोजकका अनुसार नेपालमा प्रतिव्यक्ति वार्षिक दूध उपलब्धता तथा खपत करिब ७२–७८ लिटर रहेकाले एफएओ तथा राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको ९१–९२ लिटरको लक्ष्य हासिल गर्न यस्ता कार्यक्रमले जनचेतना बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑