काठमाडौँ । रुपन्देहीमा प्रहरीले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिलालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गहनासहित काठमाडौँ महानगरपालिका–१९ की ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार गएराति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा पटेललाई जाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट २ किलो ६०५ ग्राम तौलका सुनजस्ता देखिने विभिन्न गहना बरामद गरिएको थियो ।
बरामद गहनाको परीक्षण तथा परिमाण यकिन गर्न असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो । परीक्षणका क्रममा गहनामा १ किलोग्राम शुद्ध सुन रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ । यसको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको छ ।
पटेललाई बरामद सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ ।
बरामद गहनामा हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, लकेट, पोते, बाली, टप, नाकको फूली, ब्रासलेटलगायत विभिन्न प्रकारका गरगहना रहेका छन्। बाली र जुली मात्रै १८८ जोर तथा पत्थरसहितको टप ६४ जोर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस