काठमाडौं, ७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो विश्वयुद्धपछि स्थापित विश्व राजनीतिक व्यवस्था भत्किँदै गएको तर नयाँ व्यवस्था निर्माण भइनसकेको बताएका छन् । विश्व शक्तिबीचको बढ्दो प्रतिस्पर्धा र बदलिँदो भूराजनीतिक परिस्थितिको असर नेपालसहित विश्वभर परेको उनको भनाइ छ ।
शनिबार पार्टीको दुईमहिने ‘राष्ट्रिय जागरण अभियान’ उद्घाटन गर्दै प्रचण्डले रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्वलगायतका घटनाले विश्व राजनीति संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको संकेत गरेको बताए ।
‘रुस–युक्रेनको कुरा होस् या इजरायल–प्यालेस्टाइनको, नयाँ सेट बनिसकेको छैन । यस्तो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीति गुज्रेको देखिँदैछ,’ उनले भने, ‘दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको संरचना भत्किँदै गएको र नयाँ संरचना बनिनसकेको परिस्थितिको असर सबैतिर परेको छ ।’
प्रचण्डका अनुसार दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक तथा सुरक्षा व्यवस्थामाथि अहिले चुनौती थपिँदै गएको छ । त्यसले विश्व शक्तिहरूबीचको सम्बन्ध र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन ल्याइरहेको छ ।
विश्व राजनीतिमा विकसित घटनाक्रमबाट नेपाल पनि अछुतो नरहेको प्रचण्डले बताए । दुई ठूला छिमेकी चीन र भारतको बीचमा रहेको नेपालमा विश्व शक्तिहरूबीचको प्रतिस्पर्धा तथा बदलिँदो भूराजनीतिक परिस्थितिको प्रभाव पर्ने उनको भनाइ छ ।
‘हाम्रो नेपाल त झन् दुई विशाल छिमेकीको बीचमा छ । अर्कोतिर जियोपोलिटिक्समा यी दुई शक्तिसँग पनि विश्वमहाशक्तिहरूको प्रतिस्पर्धा चर्को भएका कारण हाम्रो देश भूराजनीतिक चलखेल या भूराजनीतिमा आएको परिवर्तनको असरबाट अछुतो छैन,’ उनले भने ।
उनले विश्व राजनीतिको बदलिँदो परिस्थिति र त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा भइरहेको परिवर्तन बुझ्दै राष्ट्रिय स्वाधीनता र जनअधिकारको संरक्षणका लागि जनतामाझ सही सूचना र चेतना पुर्याउनुपर्ने उनको भनाइ थियो ।
नेकपाले शनिबारदेखि आगामी मंसिर २५ गतेसम्म सञ्चालन गर्ने गरी राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानका क्रममा विश्व राजनीतिको बदलिँदो अवस्था, नेपालको भूराजनीतिक संवेदनशीलता र राष्ट्रिय मुद्दाबारे जनतालाई जानकारी गराइने प्रचण्डले बताए ।
अभियान उद्घाटनका क्रममा पार्टीले अपिलसमेत जारी गरेको छ । अपिलअनुसार अभियानका क्रममा पार्टीका केन्द्रीय नेताहरू गाउँ, वडा र टोलसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् ।
किसान, मजदुर, युवा, विद्यार्थी, महिला तथा विभिन्न समुदायका नागरिकसँग छलफल गर्दै उनीहरूका समस्या, सुझाव र आलोचना सुन्ने कार्यक्रम पार्टीले तय गरेको छ ।
नेकपाले अभियानमार्फत राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा, जनअधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्रको विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरेको छ ।
दोस्रो विश्वयुद्धपछि विश्वमा शान्ति कायम गर्ने, अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने र आर्थिक स्थिरता कायम गर्ने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय संस्था तथा सुरक्षा संरचनाहरू स्थापना गरिएका थिए ।
सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भयो । यसको प्रमुख उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्नु तथा भविष्यमा विश्वव्यापी युद्ध हुन नदिनु थियो । सुरक्षा परिषद्का पाँच स्थायी सदस्य अमेरिका, बेलायत, सोभियत संघ (हाल रुसको उत्तराधिकारी), फ्रान्स र चीनलाई निषेधाधिकार (भिटो) दिइएको छ ।
त्यसैगरी, सन् १९४४ को ब्रेटन वुड्स सम्मेलनबाट विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) स्थापनाको आधार तयार भयो । सन् १९४७ मा भन्सार तथा व्यापारसम्बन्धी सामान्य सम्झौता (ग्याट) मार्फत अन्तर्राष्ट्रिय व्यापारका नियम विकास गर्ने प्रक्रिया अघि बढ्यो ।
सन् १९४९ मा अमेरिकाको नेतृत्वमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) स्थापना भयो । शीतयुद्धका क्रममा पश्चिमी राष्ट्रहरूको सामूहिक सुरक्षा संरचनाका रूपमा नेटोको भूमिका विस्तार भयो ।
दोस्रो विश्वयुद्धपछि बेलायत र फ्रान्सजस्ता युरोपेली शक्तिहरू कमजोर भए भने एसिया र अफ्रिकाका धेरै देश स्वतन्त्र भए । युद्धबाट क्षतिग्रस्त युरोपको पुनर्निर्माणका लागि अमेरिकाले आर्थिक सहयोग उपलब्ध गरायो, जसले पश्चिमी युरोपसँगको अमेरिकी सम्बन्धलाई थप बलियो बनायो ।
प्रचण्डले यही ऐतिहासिक पृष्ठभूमिमा स्थापित विश्व व्यवस्थामा अहिले परिवर्तन भइरहेको उल्लेख गर्दै त्यसको प्रभाव र नेपालको अवस्थाबारे जनतालाई जानकारी गराउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस