२०८३ कार्तिक २८, शनिबार | Sat, 14, Nov, 2026

स्थानीय चुनाव टार्ने दाउमा सरकार, समयमै घोषणा गर्न पौडेलको माग


१५४९ पाठक संख्या
  • २०८३ कार्तिक २७, शुक्रबार मा प्रकाशित १३ घण्टा अघि
  • काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारमाथि स्थानीय तहको निर्वाचन घोषणा गर्न ढिलाइ गरेको आरोप लगाउँदै समयमै चुनाव गराउन माग गरेका छन्।

    कांग्रेस सिराहा–४ ले छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा पदस्थापन कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले सरकारले आगामी स्थानीय तहको निर्वाचन घोषणा नगर्ने आशंका व्यक्त गरे। उनले स्थानीय तहको निर्वाचनका लागि कम्तीमा छ महिना अगावै घोषणा गर्नुपर्ने व्यवस्था र तयारीलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराए।

    ‘यो सरकारले स्थानीय तहको चुनावै घोषणा गर्दैन । चुनाव ६ महिना अगाडि घोषणा गर्नुपर्छ,’ पौडेलले भने, ‘अब चैतमा चुनाव गर्ने हो भने ६ महिना गुज्रिन लागिसक्यो । चैत मसान्तमा स्थानीय तहको अवधि सकिन्छ।’

    उनले रास्वपा नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने र पालिकाको संख्या घटाउनेजस्ता विषय उठाए पनि त्यसअनुसार कुनै ठोस काम नगरेको टिप्पणी गरे।

    ‘उहाँहरूले गैरदलीय चुनाव गर्ने भन्नुभयो, पालिकाको संख्या घटाउने भन्नुभयो। तर, गफ गर्नुभयो, त्यसका लागि केही पनि गर्नुभएन,’ उनले भने।

    महामन्त्री पौडेलले सरकारले निर्वाचन प्रणाली वा संरचनामा कुनै परिवर्तन गर्न नसके पनि वर्तमान व्यवस्थाअनुसार नै समयमै निर्वाचन गराउनुपर्नेमा जोड दिए। कांग्रेस निर्वाचनमा प्रतिस्पर्धा गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उनले सरकारलाई चुनावी प्रक्रिया अघि बढाउन आग्रह गरे।

    ‘तपाईंले केही परिवर्तन गर्नुहुन्न भने पनि यथास्थितिमै समयमै चुनाव गरिदिनुस्। त्यो चुनावका लागि पनि हामी तयार छौँ,’ उनले भने।

    उनले आगामी स्थानीय तहको निर्वाचनलाई कांग्रेसका लागि जनविश्वास पुनः स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। संघीय निर्वाचनमा पार्टीको प्रदर्शन अपेक्षाअनुसार नभएकाले स्थानीय तहमा बढीभन्दा बढी पालिका जित्नुपर्ने उनको भनाइ थियो।

    ‘संघीय निर्वाचन हारेको कारण हामीले स्थानीय तहको निर्वाचन बढीभन्दा बढी जित्नुपर्छ,’ पौडेलले भने, ‘निर्वाचन भनेको जनविश्वास हो, हामीप्रतिको भरोसा हो। जनताको भरोसा अझै कायम छ भन्ने कुरा निर्वाचन जितेर देखाउन सक्नुपर्छ।’

    महामन्त्री पौडेलले स्थानीय तहको निर्वाचनलाई पार्टीप्रतिको जनविश्वास मापन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राख्दै कांग्रेसलाई चुनावी प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑