२०८३ कार्तिक २५, बुधबार | Wed, 11, Nov, 2026

हिउँको घुम्टोमा गोरेक्षेप, जलवायु परिवर्तनले हिमालमा चिन्ता


५५९ पाठक संख्या
  • २०८३ कार्तिक २५, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौँ, कात्तिक २५ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित गोरेक्षेप गाउँ यतिबेला हिमपातपछि हिउँको सेतो घुम्टोमा सजिएको छ। समुद्री सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा रहेको यो गाउँ सगरमाथा आधारशिविर जाने पदमार्गको अन्तिम बस्ती हो। मानव बस्तीको सीमाना मानिने गोरेक्षेपले कठोर हिमाली वातावरणमा पनि जीवन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरिरहेको छ।

    सगरमाथा क्षेत्रमा जारी हिमपातका कारण गोरेक्षेपसहित आसपासका क्षेत्र हिउँले सेताम्य बनेका छन्। चारैतिर अग्ला हिमाल, बीचमा झुप्रुक्क परेका घर र पर्यटकलाई सेवा दिन खुलेका साना होटलले गाउँको सुन्दरतालाई थप आकर्षक बनाएका छन्। हिमालको काखमा अवस्थित यो बस्ती साँच्चिकै स्वर्गको एउटा सुन्दर टुक्राजस्तै देखिएको छ।

    यहाँ पुग्ने हरेक आगन्तुकले गाउँको प्राकृतिक सौन्दर्यमा आफूलाई हराउने गरेको पथप्रदर्शक मदन कँडेल बताउँछन्। ‘जति पटक यो गाउँ पुग्छु, उति नै राम्रो र सुन्दर लाग्छ,’ उनी भन्छन्।

    हिमपातपछि गोरेक्षेपको सौन्दर्य झनै निखारिएको छ। हिउँले ढाकिएका घर, बाटो र आसपासका डाँडाकाँडाले गाउँलाई परीको कथामा वर्णन गरिने बस्तीझैँ बनाएका छन्। यहाँ पुग्ने पर्यटक कोही हिउँसँग रमाउँदै तस्बिर खिच्छन् त कोही सेताम्य हिउँमा लडीबुडी खेल्दै रमाउँछन्। वरपर ठिङ्ग उभिएका अग्ला हिमालले पनि गाउँको सुन्दरतामा थप आकर्षण थपिरहेका छन्।

    हिमालको विशाल काखमा अवस्थित यो सानो बस्ती मानव र प्रकृतिबीचको गहिरो सम्बन्धको प्रतीक बनेको छ। सगरमाथा आधारशिविरतर्फ अघि बढ्ने पदयात्रीका लागि गोरेक्षेप विश्रामस्थल मात्र होइन, चिसो हिमाली यात्रामा मानवीय न्यानोपन अनुभूति गर्ने अन्तिम बस्ती पनि हो। कँडेलका अनुसार गोरेक्षेपभन्दा माथि स्थायी मानव बस्ती भेटिँदैन। त्यसैले पनि सगरमाथा क्षेत्रको पदयात्रामा यस गाउँको विशेष महत्त्व छ।

    तर, गोरेक्षेपको सुन्दर दृश्यसँगै यहाँका हिमालमा देखिन थालेको जलवायु परिवर्तनको असरले स्थानीयवासीको चिन्ता पनि बढाएको छ। गर्मीयाममा घाम चर्किँदा तल्लो क्षेत्रको हिउँ पग्लिए पनि अग्ला हिमालमा हिउँ लामो समयसम्म रहन्थ्यो। हिउँदमा त हिमालहरू बाक्लो हिउँको आवरणले ढाकिन्थे। तर पछिल्ला वर्षमा पहिलेको तुलनामा हिमालमा हिउँको मात्रा घट्दै गएको र वर्षभरि हिउँले ढाकिने दृश्य क्रमशः कम हुँदै गएको स्थानीयको अनुभव छ।

    हिमालका सेता क्यानभासमा देखिन थालेका काला चट्टान र धूलोका दागले जलवायु परिवर्तनको गम्भीर असरको संकेत गरिरहेका छन्। ‘हिउँ नै नरहे हिमाल कसरी रहला, अनि हिमालसँगै हाम्रो जीवन कसरी चल्ला ?’ भन्ने चिन्ता यहाँका बासिन्दामा बढ्दै गएको छ।

    यतिबेला टर्कीको अन्ताल्यामा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावबारे बहस भइरहेको छ। हिमालको संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणलाई विश्वव्यापी एजेन्डा बनाउन नेपालले पनि अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउँदै आएको छ।

    हिमालको देश नेपालले उठाएको यो आवाज विश्व समुदायले गम्भीरतापूर्वक सुनोस् भन्ने अपेक्षा गोरेक्षेपका बासिन्दाको पनि छ। किनकि, हिउँले ढाकिएको गोरेक्षेपको मनमोहक सुन्दरता केवल पर्यटकीय आकर्षण मात्र होइन, हिमाली जीवन, जैविक विविधता र प्रकृतिको सन्तुलनसँग जोडिएको अमूल्य सम्पदा पनि हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑