२०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

माला उन्दै थिइन् दिदी, भाइको शव आइपुग्यो आँगनमा


६१३९ पाठक संख्या
  • २०८३ कार्तिक २६, बिहिबार मा प्रकाशित ११ घण्टा अघि
  • सुशिल वञ्जरा ।

    डडेल्धुरा । भाइटीकाका लागि दिदीले फूलमाला उनेकी थिइन्। सप्तरङ्गी टीका र माला लगाएर भाइको दीर्घायुको कामना गर्ने उनको सपना थियो। तर, नियतिले यस्तो बज्रपात गरायो कि भाइटीकाको अघिल्लो दिन दिदीको आँगनमा भाइको पार्थिव शरीर आइपुग्यो।

    डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडाकी सकुन्तला भण्डारी यस वर्षको तिहारमा भाइ लोकेशको प्रतीक्षामा थिइन्। घरमा तिहारको रमझम सुरु भइसकेको थियो। दिदी सकुन्तला पनि भाइलाई टीका लगाइदिने र फूलमाला पहिर्‍याइदिने तयारीमा जुटेकी थिइन्। तर, उनको त्यो खुसी र प्रतीक्षा एकाएक जीवनकै सबैभन्दा पीडादायी क्षणमा परिणत भयो।

    नेपाल प्रहरीमा कार्यरत ३४ वर्षीय लोकेश चार दिनअघि मात्रै नयाँ मोटरसाइकल किनेर घर फर्किँदै थिए। त्यही मोटरसाइकल चढेर आउने क्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुलीमा उनको मोटरसाइकल ट्र्याक्टरसँग ठोक्कियो। दुर्घटनामा गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा निधन भयो।

    भाइटीकाको अघिल्लो दिन अर्थात् कात्तिक २४ गते लोकेशको पार्थिव शरीर घरको आँगनमा आइपुग्दा परिवारको खुसी एकाएक शोकमा बदलियो। भाइको स्वागतका लागि प्रतीक्षारत दिदीले अन्ततः कहिल्यै नफर्किने गरी बिदा भएको भाइको अन्तिम अनुहार हेर्नुपर्‍यो।

    लोकेशको असामयिक निधनले परिवारमा ठूलो बज्रपात परेको छ। वृद्ध आमाबुवाले बुढेसकालको सहारा गुमाएका छन्। सानी छोरीले कलिलै उमेरमा बुबाको माया, ममता र साथ गुमाएकी छन्। दिदी सकुन्तलाका लागि भने यस वर्षको भाइटीका कहिल्यै नमेटिने पीडाको सम्झना बनेर आएको छ।

    जुन निधारमा सप्तरङ्गी टीका लगाउने सपना थियो, त्यही भाइको निधारमा अन्तिम बिदाइको पीडा बोकेर आँसु झार्नुपर्‍यो। जुन गलामा फूलमाला सजाउने तयारी थियो, त्यो माला अधुरै रह्यो। दिदीले उनेको माला भाइको गलामा सजिन पाएन।

    तिहारले हरेक घरमा खुसी, उमङ्ग र पारिवारिक मिलनको सन्देश ल्याइरहँदा सकुन्तलाको घरमा भने यस वर्ष भाइटीकाको रङ छाउन सकेन। आँगनमा उनेर राखिएको फूलमाला र मनभरि सजिएका सपनाहरू भाइको वियोगसँगै अधुरा रहे।भाइटीकाका लागि उनेको माला अधुरै रह्यो, तर भाइको सम्झना र वियोगको पीडा जीवनभर रहनेछ।

    दिवंगत लोकेश भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑