२०८३ कार्तिक २३, सोमबार | Mon, 09, Nov, 2026

नेताका खल्तीबाट उम्मेदवार छानिँदैनन्’ : गोकुल बाँस्कोटा


९७३ पाठक संख्या
  • २०८३ कार्तिक २३, सोमबार मा प्रकाशित १ घण्टा अघि
  • एमालेको पालो आउँछ, अहिले निराश नहुनुस् : बाँस्कोटा

    काभ्रेपलाञ्चोक । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीलाई जनताले पाँच वर्ष धैर्य गरेर संगठन निर्माण र पार्टीका काममा केन्द्रित हुन जनादेश दिएको बताएका छन्।

    काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९, पलाञ्चोकमा नेकपा एमाले वडा कमिटीको आयोजनामा आइतबार सम्पन्न दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बाँस्कोटाले यस्तो बताएका हुन्।

    उनले १८२ सिट प्राप्त गरी सरकार सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसरी सरकार सञ्चालन गरिरहेको छ भन्ने कुरा जनताले नजिकबाट नियालिरहेको उल्लेख गर्दै त्यसको मूल्यांकन आगामी स्थानीय निर्वाचनमा देखिने दाबी गरे।

    ‘आकाशको जूनतारा खसाल्छौँ भनेर साथीहरू अगाडि बढ्नुभएको छ। उहाँहरूले के–के गर्नुहुन्छ, त्यो जनताले हेरिरहेका छन्,’ बाँस्कोटाले भने, ‘जनताको दृष्टिमा हामीबाट पनि केही कमीकमजोरी भएका होलान्। त्यसैले केही समय हामीलाई छायामा राखिएको हो, तर सधैँका लागि होइन।’

    एमाले जनताले निकै माया गरेको पार्टी भएको उल्लेख गर्दै उनले पार्टीलाई केही समय संगठनात्मक काममा केन्द्रित हुन जनताबाटै निर्देशन आएको बताए। एउटा निर्वाचनमा हार्दैमा वा जित्दैमा राजनीतिक भविष्यको अन्तिम फैसला नहुने उनको भनाइ थियो।

    ‘अहिले नै निराश हुने बेला भएको छैन। राजनीतिमा उतारचढाव आइरहन्छ। कुनै पनि विषयको अन्तिम फैसला नेताले होइन, जनताले गर्छन्,’ उनले भने। विचारमा आबद्ध नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै उनले पार्टीप्रतिको विश्वास र धैर्य कायम राख्नसमेत सुझाव दिए।

    आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँस्कोटाले उम्मेदवार छनोट आपसी छलफल र सहमतिका आधारमा हुने स्पष्ट पारे। नेताहरूको व्यक्तिगत इच्छा वा पहुँचका आधारमा उम्मेदवार तय नहुने उल्लेख गर्दै उनले भने, ‘उम्मेदवारको सूची नेताको खल्तीबाट आउँदैन, त्यसैले ढुक्क रहनुस्।’

    कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले स्थानीय विकास निर्माणका अधुरा योजना सम्पन्न गर्नुपर्ने, ‘आफ्नो ठाउँ आफैँ बनाऔँ’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने र कृषकको हितका लागि सिँचाइ पोखरी निर्माण तथा व्यवस्थापन गर्नुपर्ने सुझाव राखेका थिए।

    त्यसैगरी ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर क्षेत्रमा भक्तजनको सुविधाका लागि सत्तल निर्माण गरी विश्राम गर्ने उपयुक्त वातावरण बनाउनुपर्ने विषय पनि सहभागीहरूले उठाएका थिए। उठेका जिज्ञासा, सुझाव तथा प्रश्नको प्रमुख अतिथि बाँस्कोटाले जवाफ दिएका थिए।

    नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा, अग्रज नेतृत्व कुमार खकुरेल, पाँचखाल नगर कमिटी इन्चार्ज राजकुमार श्रेष्ठ, एमाले जिल्ला कमिटी सदस्य एवं पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवार, जिल्ला कमिटी सदस्य टोम सापकोटा, पाँचखाल नगर कमिटी अध्यक्ष विष्णुहरि पौडेल, सल्लाहकार भैरव सेढाईंसहित पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑