२०८३ कार्तिक २५, बुधबार | Wed, 11, Nov, 2026

आज भाइटीका : ११ः०७ बजे उत्तम साइत, दिनभर टीका लगाउन मिल्ने


३९७ पाठक संख्या
  • २०८३ कार्तिक २५, बुधबार मा प्रकाशित १ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको मुख्य दिन आज बुधबार देशभर श्रद्धा, आस्था र उल्लासका साथ भाइटीका मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाएर भाइटीका पर्व मनाउने परम्परा छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिनभर भाइटीका लगाउन कुनै बाधा छैन। तर, शुभसाइत खोज्नेहरूका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। यस वर्ष भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र टीका लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने समितिको सुझाव छ।

    यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र सद्भाव प्रकट गर्ने विशेष पर्व हो। यस दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने, मखमली, सयपत्री तथा गोदावरी फूलका माला पहिर्‍याउने र दीर्घायु तथा सुखसमृद्धिको कामना गर्ने चलन छ। त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन्।

    धार्मिक मान्यताअनुसार दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दा दाजुभाइको आयु, आरोग्य र ऐश्वर्य वृद्धि हुने विश्वास गरिन्छ। त्यस्तै, दिदीबहिनीलाई पूजा तथा सम्मान गर्दा अखण्ड सौभाग्य र समृद्धि प्राप्त हुने शास्त्रीय मान्यता छ।

    भाइटीकाका अवसरमा लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्ट चिरञ्जीवी—मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामको आराधना गरिन्छ। साथै चित्रगुप्त, यमराज, यमुना र धर्मराजलगायतका देवताको पूजा गर्ने धार्मिक परम्परा पनि रहेको छ।

    टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटीलगायतका परिकार दिने गर्छन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार कपडा, उपहार तथा दक्षिणा दिएर दिदीबहिनीप्रति प्रेम र सम्मान व्यक्त गर्छन्।

    रङ्गीचङ्गी टीका र फूलका मालाले सजिने भाइटीका केवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसरसमेत हो। आपसी प्रेम, सद्भाव, विश्वास र आत्मीयताको प्रतीकका रूपमा मनाइने यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध सधैँ सुमधुर र अटुट रहिरहोस् भन्ने सन्देश बोकेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑