
सजिना मैनाली ,
२४ कात्तिक, क्यानबेरा । अस्ट्रेलियामा रहेका नेपाली युवा उज्ज्वल खनालले विकास गरेको सामाजिक सञ्जाल एप ‘थोप्ला’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ। नयाँ संस्करण सञ्चालनमा आएको पाँच महिनामै एपमा करिब २० हजार प्रयोगकर्ता जोडिएका छन्।
चितवनको भरतपुर घर भई अस्ट्रेलियाको क्यानबेरामा बस्दै आएका खनालले विश्वभरका नेपालीलाई आफ्नै प्रविधिमार्फत जोड्ने र उनीहरूको सिर्जनालाई आम्दानीसँग जोड्ने उद्देश्यले एप विकास गरेका हुन्।
विशेषगरी खाडी मुलुकमा कार्यरत नेपालीमाझ एपको प्रयोग बढेको छ। हालसम्मका प्रयोगकर्तामध्ये करिब १५ हजार खाडी क्षेत्रका नेपाली रहेको खनालले बताएका छन्। उनका अनुसार केही मुलुकमा मेसेन्जर र ह्वाट्सएप प्रयोगमा कठिनाइ हुने भएकाले ‘थोप्ला’ परिवार र आफन्तसँग सम्पर्क गर्ने वैकल्पिक माध्यम बनेको छ।
एपमा छोटा भिडियो, फोटो तथा स्ट्याटस सेयर, अडियो–भिडियो कल, लाइभ स्ट्रिमिङ र सामूहिक अडियो कुराकानीलगायत सुविधा छन्। साथै, प्रयोगकर्ताले मनपर्ने कन्टेन्ट क्रिएटरलाई भर्चुअल उपहार पठाउन र निश्चित फलोअर्स पुगेपछि भ्युज तथा विज्ञापनमार्फत आम्दानी गर्न सक्ने व्यवस्था छ।
हाल अकाउन्टिङ विषयमा स्नातकोत्तर गरिरहेका खनालले सन् २०२१ तिरै साथीहरूसँग मिलेर ‘थोप्ला’को अवधारणा अघि सारेका थिए। अब एपमा थप सुविधा विस्तार गर्दै ईसेवा र खल्तीजस्ता नेपाली डिजिटल वालेटसमेत जोड्ने उनको योजना छ।
विदेशमा नेपालीले विकास गरेको प्रविधिलाई विश्वव्यापी पहिचान दिलाउने र भविष्यमा नेपाल फर्केर सूचना प्रविधिको क्षेत्रमा उद्यम गर्ने लक्ष्य खनालले राखेका छन्।


प्रतिक्रिया दिनुहोस