
काठमाडौँ । चर्को आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ५२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौँका विभिन्न स्थानमा सवारीसाधन जाँच तथा निगरानीलाई तीव्रता दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएका टोलीले गरेको जाँचका क्रममा सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल फेला पारेपछि नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक अनुसन्धान भइरहेको छ।
प्रहरीले चाडपर्वका समयमा शान्ति सुरक्षामा असर पुग्ने गतिविधि नियन्त्रण गर्न तथा सवारी नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी बढाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस