२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

सत्ता बहिर्गमनपछि ओलीको सन्देश: एमाले अझै निर्णायक शक्ति हो


४८३७ पाठक संख्या
  • २०८२ मंसिर २७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काठमाडौं, २७ मंसिर — जेनजी आन्दोलनपछि सत्ता बहिर्गमनमा परेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनमा आफू र पार्टीमाथि उठेका राजनीतिक प्रश्नहरूको खण्डन गर्दै एमालेको शक्ति नघटेको दाबी गरेका छन्।

    शनिबार सम्पन्न महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष ओली लिखित मन्तव्यसहित उपस्थित भए। यसअघिका सभाजस्तै धारा प्रवाह शैलीमा नबोली उनले योजनाबद्ध रूपमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शुभकामना व्यक्त गर्न आएका विभिन्न अतिथिलाई समेत समेट्दै ओलीले एमाले ‘अजम्बरी पार्टी’ भएको बताए।

    महाधिवेशनस्थलमा देखिएको ठूलो जनसहभागितातर्फ संकेत गर्दै ओलीले लोकतन्त्र र एमाले दुवै अजेय भएको दाबी गरे। ‘धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु— लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ,’ उनले भने।

    अध्यक्ष ओलीले एमाले अब निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ अघि बढिरहेको बताए। उनले जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाक्रमलाई एमालेविरुद्धको प्रहारको रूपमा चित्रण गरे।

    ओलीले पछिल्लो समय एमालेमाथि किन प्रहार भइरहेको छ भन्ने विषयमा पनि आफ्नो धारणा राखे। साना वा ठूला जुनसुकै देश भए पनि सार्वभौमसत्ता बराबर हुने भनाइ राख्दा आलोचना भएको उनले बताए। जन्मजात श्रेष्ठतामा आधारित शासन व्यवस्थाको विरोध, सबै नागरिक बराबर हुने लोकतान्त्रिक मूल्यको पक्षपोषण, अनिर्वाचित सत्ताको अस्वीकृति र हिंसाको विकल्पमा शान्तिपूर्ण राजनीति अपनाउनुपर्ने धारणा राख्दा पनि एमालेमाथि प्रहार भएको ओलीको भनाइ थियो।

    त्यस्तै, विविधता र बहुलता नेपाली समाजको सम्पदा भएको र यसले समाजलाई जोड्ने काम गर्नुपर्ने धारणा राख्दा समेत आलोचना भएको उनले उल्लेख गरे।

    एमाले नेतृत्वले महाधिवेशनमार्फत पार्टीलाई वैचारिक, संगठनात्मक र राजनीतिक रूपमा थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार