काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकाले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले आफ्ना जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंद्वारा जारी सहयोग रकमसम्बन्धी पत्रमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका क्षेत्रमा ठूलो धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
गाउँपालिकाले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सबै पक्षलाई सहयोगका लागि आह्वान गरेको छ।
गाउँपालिकाले ‘विपत्तिको घडीमा प्रभावित नागरिकको साथमा स्थानीय सरकार’ भन्ने भावनासहित सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। यस्तै, कठिन परिस्थितिमा यथासम्भव सहयोग गर्न गाउँपालिकाले आम नागरिक तथा सम्बन्धित सबैमा अनुरोध गरेको छ।
भोटेकोशीमा आएको बाढीले मानव बस्ती, सडक, पुल तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि विभिन्न स्थानीय तह, संघसंस्था तथा नागरिकस्तरबाट पीडितको उद्धार र राहतका लागि सहयोग जुटाउने क्रम बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस