काभ्रेपलाञ्चोक । नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादशैँ आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेर सुरु भएको १५ दिने दुर्गा पक्ष आज साँझ धनधान्य र ऐश्वर्यकी देवी महालक्ष्मीको पूजाआराधना तथा रातभर जाग्राम बस्ने परम्परासँगै बिदा हुँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाको धार्मिक तथा सांस्कृतिक महत्त्व विशेष रहेको छ। यस दिन महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेमा घरमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास छ। यही विश्वासका आधारमा नेपाली समाजमा कोजाग्रत पूर्णिमा मनाउने परम्परा रहिआएको छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, कोजाग्रत पूर्णिमाको रात पृथ्वी भ्रमण गर्ने महालक्ष्मीले जाग्राम बसेका मानिसका घरमा प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक मान्यता छ।
माता दुर्गाका तीन प्रमुख स्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीमध्ये महालक्ष्मीको आराधना गर्दै यस दिन दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्रको समापन विजयादशमीका दिन हुने भए पनि समग्र दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासँगै समाप्त हुने धार्मिक परम्परा छ। लक्ष्मीपूजाभन्दा १५ दिनअघि नै महालक्ष्मीको आराधना गरिने भएकाले पनि यस पर्वको विशेष महत्त्व रहेको छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज साँझ अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप दशैँको टीका र जमरा लगाउन शास्त्रसम्मत मानिन्छ। बिहानै दशैँघरमा राखिएका फूलप्रसाद तथा जमराका अवशेषलाई नजिकैका नदी, तलाउ, पोखरी वा अन्य तीर्थस्थलमा लगेर विसर्जन गर्ने परम्परा पनि छ।
कोजाग्रत पूर्णिमासँगै बडादशैँको औपचारिक समापन हुने भएकाले नेपाली समाजमा दशैँको चहलपहल क्रमशः कम हुँदै जानेछ। यद्यपि, धार्मिक तथा सांस्कृतिक गतिविधि भने तिहारसम्म जारी रहनेछन्।
भोलिदेखि कात्तिक स्नान तथा आकाशदीप दान गर्ने परम्परा सुरु हुने गर्छ। यसलाई धार्मिक आस्था र सांस्कृतिक निरन्तरतासँगै दशैँलाई बिदाइ गर्दै तिहारको स्वागत गर्ने समयका रूपमा समेत लिइन्छ।


प्रतिक्रिया दिनुहोस