२०८३ मंसिर २, बुधबार | Wed, 18, Nov, 2026

राप्रपामा कमल थापाको शक्ति परीक्षण, लिङ्देनविरुद्ध गुटबन्दी तीव्र


५०५ पाठक संख्या
  • २०८३ मंसिर २, बुधबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौं, २ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा महाधिवेशन नजिकिएसँगै आन्तरिक विवाद चुलिएको छ । पूर्वअध्यक्ष कमल थापा, पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी गर्दै देश दौडाहामा निस्किएपछि पार्टीभित्र ध्रुवीकरण बढेको हो ।

    थापा समूहले पार्टी सुदृढीकरणको नाममा विभिन्न जिल्लामा कार्यकर्ता भेटघाट तथा छलफललाई तीव्र बनाएको छ । बुधबार मकवानपुरबाट सुरु भएको दोस्रो चरणको अभियान चितवन, नवलपुर, रुपन्देही, दाङ, बाँके, कैलाली हुँदै सुर्खेत पुगेर टुंगिनेछ ।

    महाधिवेशनमा आफ्नो शक्ति आकलन गर्दै अध्यक्षको उम्मेदवारीको तयारीमा थापा रहेको उनीनिकट नेताहरूको भनाइ छ । थापा वा पाण्डेमध्ये एक जना अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ ।

    २०७८ को महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि राप्रपा छाडेर राप्रपा नेपाल पुनर्गठन गरेका थापा गत पुसमा पुनः राप्रपामै फर्किएका थिए । तर, एकतापछि केन्द्रीय समितिमा १३३ सदस्य थप्नुपर्ने उनको माग पूरा नभएको र सांगठनिक समायोजनले गति नलिँदा असन्तुष्टि बढ्दै गएको छ ।

    थापा समूहको सक्रियतापछि अध्यक्ष लिङ्देन पक्षले पनि मधेशमा भेला तथा संवाद सुरु गरेको छ । दुवै पक्ष आ–आफ्नो शक्ति विस्तारमा जुटेपछि महाधिवेशनको पूर्वसन्ध्यामा राप्रपाको आन्तरिक राजनीति थप पेचिलो बनेको छ ।

    राजसंस्थाको मुद्दाबाट पराजयपछि राहत पाएको अभिव्यक्ति दिएका थापा पुनः राजसंस्था पुनर्बहालीको आन्दोलनमा सक्रिय देखिन थालेका छन् । उनको पछिल्लो राजनीतिक सक्रियतालाई राप्रपाभित्र नेतृत्व परिवर्तनको शक्ति परीक्षणका रूपमा हेरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑