काठमाडौँ । नेकपा (एमाले) को राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
भेलामा सहभागी हुन देशभरबाट अधिकांश प्रतिनिधि काठमाडौँ आइपुगेको एमालेले जनाएको छ। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश दिनुका साथै आगामी स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
उनका अनुसार भेलामा गत असोज ५ देखि ८ गतेसम्म सम्पन्न केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने तथा पार्टीले प्राथमिकताका साथ गर्नुपर्ने १५ वटा कामका विषयमा विस्तृत छलफल हुनेछ। भेलाका प्रस्तावित एजेन्डालाई सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसदका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनेछन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार भेलालाई पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलामार्फत पार्टीको आगामी राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सुदृढीकरण र स्थानीय तहको निर्वाचनको तयारीबारे साझा धारणा निर्माण गर्दै आवश्यक रणनीति तय गर्ने एमालेको अपेक्षा छ।


प्रतिक्रिया दिनुहोस