२९ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलालाई व्यवस्थित बनाउन केन्द्रीय कार्यालय च्यासलमा दैनिक तयारी बैठक भइरहेका छन्।
भेलाको तयारीबारे जानकारी लिन वरिष्ठ नेता विद्यादेवी भण्डारी आइतबार च्यासल पुगेकी थिइन्। उनले भेला संयोजक भानुभक्त ढकाललगायत नेताहरूसँग तयारीको अवस्थाबारे जानकारी लिइन्।
एमालेका अनुसार भेलामा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी नेता, जनप्रतिनिधि तथा जनसंगठनका प्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुनेछन्। प्रदेशअनुसार युवा नेताहरूलाई सहभागी परिचालन र समन्वयको जिम्मेवारी दिइएको छ।
प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको पराजयपछि पार्टीपंक्तिमा जागरण ल्याउने, कमजोरीको समीक्षा गर्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको केन्द्रीय सदस्य सुनिता बरालले बताइन्।
महासचिव शंकर पोखरेलले भेलामार्फत पार्टी चुनावी तयारीमा जुटेको सन्देश दिने बताएका छन्। भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव पोखरेलले सम्बोधन गर्ने तयारी छ।
यद्यपि, भेलामा सहभागी तल्लो तहका नेता तथा कार्यकर्ताले आफ्ना धारणा राख्न नपाउने र शीर्ष नेताहरूको सम्बोधनमै कार्यक्रम सीमित हुने तालिकाप्रति केही नेताहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले पार्टीको वर्तमान अवस्था, निर्वाचनमा भएको पराजय र संगठनका समस्याबारे कार्यकर्ताको धारणा सुन्ने गरी छलफल हुनुपर्ने माग गरेका छन्।
राष्ट्रिय भेलापछि जनप्रतिनिधिहरूको छुट्टै भेला आयोजना गर्ने एमालेको तयारी छ। त्यसको भोलिपल्ट मंसिर ५ गते चौथो केन्द्रीय कमिटी बैठकसमेत बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस